बारको अध्यक्षमा प्रगतिशीलका श्रेष्ठ र महासचिवमा लोकतान्त्रिकका पौडेल विजयी

162

छिनछिन खबर
काठमाडौं– नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । नेकपा निकट प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार श्रेष्ठले ४०२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका सुनिल पोखरेलले ३८७३ मत प्राप्त गरे ।


महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेल ४ हजार १ सय ७८ मतका साथ विजयी भएका छन् । प्रगतिशीलतर्फका महासचिवका उम्मेदवार सुरेन्द्रबहादुर थापा ३ हाज ७ सय १ मत प्राप्त गरी पराजित भए ।
त्यसैगरी कोषाध्यक्ष र महिला उपाध्यक्षमा प्रगतिशीलका क्रमशः रुद्रप्रसाद पोखरेल ४ हजार ४६ र रक्षा बस्याल ३ हजार ९ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् ।

२५ सदस्यीय कार्य समितका लागि भएको चुनावमा नेकपा निकट प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट २२ सिटमा जित हासिल भएको छ ।
लोकतान्त्रिक प्यानलका तर्फबाट महासचिवमा पौडेल र प्रदेश ५ का उपाध्यक्ष सुनिल श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी मधेसी मुस्लिममा उपत्यका बाहिरबाट खुला सदस्य तर्फ मनोज कुमार चौधरी विजयी भएका छन् ।

नयाँ कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक एक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो । २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये ८ हजार ३२९ कानुन व्यवसायीले मतदान गरेका थिए ।

Womui
Womui