आठौं राष्ट्रिय खेलकूदको उद्घाटन राष्ट्रपतिले गर्ने

97

काठमाडौं– आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगन्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् राखेपले जनाएको छ ।


उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ । यस्तै प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । सोही रङ्गशालामा वैशाख ११ गते साँझ आयोजित कार्यक्रममा समापन गरिनेछ । यसअघि पूर्वाञ्चलमा आयोजना गरिएको सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए । सोही समापन समारोहमा नवौँ राष्ट्रिय खेलकूदको मिति र स्थानसमेत घोषणा हुने राखेपले जनाएको छ ।

प्रतियोगिताका खेल भने यही चैत २७ गतेदेखि शुरु हुनेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
रासस

Womui
Womui