ठूला आयोजनाको प्रगति निराशाजनक, २३ प्रतिशत मात्रै खर्च

50

प्रशिद्धिका खड्का
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षगाँठको अवसरमा पानी जहाज कार्यालयको उदघाट्न गरे । पानी जहाजको टिकट काउन्टर पनि चाँडै खुल्ने बताइरहँदा राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्याइएको बजेटको खर्च भने निराशाजनक अवस्थामा छ ।


सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ को बजेटमार्फत ठूला विकास आयोजनालाई प्राथमिकतामा राखेको थियो । ती ठूला आयोजनाको काममा गति दिन सरकारले झन्डै १ खर्ब रुपैयाँ बजेट पनि छुट्याएको थियो । तर ७ महिनासम्म आइपुग्दा पनि ती आयोजनाको खर्च भने निराशाजनक छ । जसका कारण बैंकहरुमा समेत लगानी योग्य रकमको कमी रहेको छ । यही समयमा उद्योगीहरु पनि व्याजदर घटाउने माग गर्दै आन्दोलनसम्म गरिरहेका छन् ।
हालसम्मको पुँजीगत खर्च छुट्याइएको रकमको जम्मा २३.६२ प्रतिशत मात्रै छ । जसमा ७४ अर्ब १७ करोड ६५ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

सरकारले बजेटमार्फत पुँजीगत खर्चका लागि भन्दै ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ बिनियोजन गरेको थियो । पुँजीगत खर्च बढाउन भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरोकारवाला निकायहरुलाई पटक पटक निर्देशन दिंदै आएका छन् ।तर पनि खर्च भने बढ्न सकेको छैन । जसका कारण कामले गति लिन सकेको छैन । अर्थमन्त्री खतिवडाले एक साताअघि मात्रै एक कार्यक्रममा पुँजीगत खर्च बढाउन अर्थमन्त्रालयले विशेष चासो दिने बताएका थिए ।

‘अर्थ मन्त्रालयले बजेट दिने हो, खर्च गर्ने निकायहरुले काम द्रुत गतिमा गर्नुको विकल्प छैन,’ खतिवडाले भने । विगतका सरकारले घोषणा गरेका २१ वटा राष्ट्रिय गौरवका आयोजनाको प्रगति पनि निराशाजनक रहेको छ । सरकारले चालु बजेटमा १ खर्ब रुपैयाँ राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन गरेको थियो ।

जसमा हालसम्म खर्च भने २७ अर्ब रुपैयाँ मात्रै भएको छ जुन छुट्याइएको बजेटको २९ प्रतिशत मात्रै हो । सरकारले पुँजीगत खर्च नबढाएसम्म बैंकहरुमा पनि लगानीयोग्य रकमको अभाव भइरहने भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनी बताउँछन् । विकास बजेट खर्च नभएमा सबैतर्फ समस्या आउने भएकोले सरकारको ध्यान त्यसैतर्फ केन्द्रित हुनुपर्नेमा पंगेनीको जोड छ ।

सरकारले निकै महत्वका साथ घोषणा गरेको रेल र मोनोरेलको बजेट पनि खर्च हुन सकेको छैन । रेल तथा मोनोरेलको अध्ययनका लागि भन्दै ४ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको थियो । तर खर्च भने अहिलेसम्म १३.८२ प्रतिशत मात्रै भएको छ । यस्तै, निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि १४ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको भएपनि २.१ प्रतिशत मात्रै खर्च भएको छ ।
सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–तराई द्रुतमार्गको बजेट खर्च पनि उत्साहजनक रहेको छैन । सरकारले १५ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरेको भएपनि १०.९२ प्रतिशत मात्रै खर्च भएको छ ।

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १ प्रतिशत मात्रै बजेट खर्च भएको छ । विमानस्थलका लागि ६ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । मध्यपहाडी राजमार्गको प्रगति भने राम्रो रहेको छ । मध्यपहाडीका लागि ५ अर्ब ५५ करोड रुपैयाँ बजेट छुट्याइएको थियो जसमा ८४.६८ प्रतिशत खर्च भएको छ ।

Womui
Womui