सामुदायिक बिद्यालयले शुल्क लिन नपाउने शिक्षा समितिको निर्णय

143

अगैया (बाँके ), चैत १९-
राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र रहेका कुनैपनि सामुदायिक बिद्यालयले शुल्क लिन नपाउने भएका छन् । गाउँपालिकाको मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले आधारभुत तहमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणाका लागि कुनैपनि बिद्यालयले कुनैपनि शुल्क लिन नपाउने गरी निर्देशन गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष एवम् शिक्षा समितिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बसेको उक्त बैठकले आगामी जेठ महिनाभित्र साक्षर गाउँपालिका घोषणा गर्ने निर्णय पनि गरेको शिक्षा शाखा प्रमुख एवम् बिद्यालय निरीक्षक जीवन न्यौपानेले जानकारी दिए । ‘साक्षर गाउँपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ, आगामी जेठ महिनाभित्र घोषणाका लागि शिक्षा समितिले निर्णय गरेको छ,’ उनले भने ।

बैठकले सामुदायिक बिद्यालयको भर्ना अभियान बैशाख २ देखी ९ गतेसम्म सञ्चालन गर्ने र उक्त अभियानको अगुवाई सम्बन्धित वडाका वडाध्यक्षले गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख न्यौपानेले बताए । आगामी शैक्षिक शत्रमा बिद्यालय, अभिभावक, शिक्षक, बिद्यार्थी, वडापालिका, गाउँपालिका लगायतले के के जिम्मेवारी र दायित्व पुरा गर्ने भन्ने विषयमा मार्ग चित्र बनाउने निर्णय भएको छ ।
यसैगरी उक्त बैठकले दलित तथा जेहेन्दार बिद्यार्थीका लागि छात्रवृत्ति वितरण गर्न पुनः सूचना प्रकाशित गरी छुटेका बिद्यार्थीलाई सहभागी हुन मौका प्रदान गर्ने निर्णय समेत गरेको छ । राप्तीसोनारी क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत बिद्यालयको कक्षा थप्न अनुमति दिने निर्णय पनि बैठकले गरेको छ ।

उक्त बैठकमा बोल्दै गाउँपालिका अध्यक्ष थारुले शिक्षाको गुणस्तर सुधारका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।
गाउँपालिकाले सुरु देखी नै शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको स्मरण गर्दै अझैपनि शिक्षालाई माथी उठाउन गाउँपालिकाले सक्दो लगानी गर्ने बताए । बैठकमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खिमलाल ओली, शिक्षा समितिका सदस्य एवम् वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, दिपक डाँगी, ऋषिराज शर्मा, टोपबहादुर सुनार, गाउँपालिकाका प्रेस सल्लाहकार अर्जुन ओली लगायत उपस्थित भएका थिए ।

Womui
Womui