४० हजार कर्मचारी भर्ना गर्ने तयारी, धेरैजसो प्रदेश र स्थानीय तहका लागि

100

छिनछिन खबर
काठमाडौं–सरकारले संघ, प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन कार्य सम्पन्न गरेको छ । तीन तहमा गरी ९८ हजार ५६८ जना कर्मचारी समायोजन गरिएका छन् ।

समायोजनका क्रममा ८६ हजार ४७१ निजामती र साबिक स्थानीय निकायका १२ हजार ९७ गरी ९८ हजार ५६८ जना अब नयाँ भूमिकामा रहने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सरकारले गत मङ्सिर २३ गते कर्मचारी समायोजन अध्यादेश जारी गरी कर्मचारी समायोजनको प्रारम्भिक प्रक्रिया सुरू गरेको थियो ।

पुस ११ गतेदेखि माघ २ गतेसम्म २१ दिनको सूचना सार्वजनिक गरी अनलाइन सिस्टमबाट कर्मचारीलाई आफूले रोजेको ठाउँमा आवेदन दिन मन्त्रालयले सफ्टवेयरको निर्माण गरी कर्मचारी समायोजनको काम सुरू गरेको थियो । सरकारले सङ्घमा स्वीकृत भएका ४८ हजार ४०९ दरबन्दीमध्ये ४० हजार ७६९ कर्मचारी समायोजन गरेको छ । त्यस्तै प्रदेशमा २२ हजार २९७ दरबन्दीमध्ये १४ हजार ६५९ जना कर्मचारी समायोजित भएका छन् ।

स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दीमध्ये निजामती सेवाका ३१ हजार ४३ र साबिक स्थानीय निकायका १२ हजार ९७ गरी ४३ हजार १४० गरी जम्मा ९८ हजार ५६८ जना कर्मचारी समायोजन गरिएको मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरूले जानकारी दिए ।

सरकारले कर्मचारी समायोजन सम्पन्न गरे पनि अझै सङ्घ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीमध्ये करिब ४० हजार कर्मचारी अपुग हुने देखिएको छ । सरकारले तीन तहमा गरी ९८ हजार ५६८ जना कर्मचारी समायोजन भएको घोषणा गरे पनि स्वीकृत एक लाख ३७ हजार ६१४ दरबन्दीमध्ये अझै ३९ हजार ४६ जना कर्मचारी अपुग हुने मन्त्रालयले जनाएको छ ।

अपुग कर्मचारीलाई चाँडै लोक सेवा आयोगले विज्ञापन गरेर भर्ना प्रक्रिया थाल्ने मन्त्रालयले जनाएको छ । यसै महिनादेखि नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु हुने बताइएको छ ।

Womui
Womui