एसइई परीक्षा सुरु, ४ लाख ७५ हजार परीक्षार्थी सहभागी

168

छिनछिन खबर
काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । एसइईमा देशभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका छन् । जसमध्ये नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्जाम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एसइईमा २ लाख ३८ हजार ५ सय ५८ छात्रा र २ लाख ३६ हजार ४ सय ४५ छात्रले परीक्षा दिँदै छन् ।

सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय ७ परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । यस वर्षको एसइई परीक्षामा नियमितर्फ सबैभन्दा धेरै प्रदेश ३ बाट १ लाख ३ हजार ४ सय ६० विद्यार्थी सहभागी हुँदै छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३२ हजार ३ सय ४४ परीक्षार्थी छन् । प्रदेश १ बाट ७९ हजार ७ सय १९, प्रदेश २ बाट ६४ हजार ८ सय ६८, गण्डकी प्रदेशबाट ४६ हजार ५ सय ७१ परीक्षार्थी छन् । त्यसैगरी प्रदेश ५ बाट ७३ हजार २ सय ८५ र प्रदेश ७ बाट ४९ हजार ९ सय ३९ ले परीक्षा दिँदै छन् ।

अघिल्लो वर्षको तुलनामा एसईई दिने विद्यार्थीको संख्या यो वर्ष घटेको छ । अघिल्लो वर्ष कुल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी रहेकामा यस वर्ष करिब १० हजार कम सहभागी छन् । परीक्षाका लागि एक हजार ९ सय ६९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । त्यति नै केन्द्राध्यक्ष, तीन हजार १ सय ६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएका छन् । यस वर्षदेखि एसइई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गरेका छन् ।

प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशनको काम भने परीक्षण नियन्त्रण कार्यालयले गर्नेछ । परिक्षा २१ गतेसम्म चल्नेछ ।

Womui
Womui