छलफल नै नभएको एजेण्डामा निर्णय भएपछि कोहलपुर नगरपालिकाभित्र विवाद

93

कोहलपुर, चैत ९-
कोहलपुर नगरपालिकाको बोर्ड बैठकमा प्रवेश नभएको एजेण्डामै निर्णय गरिएको खुलासा भएको छ । नगरपालिकाले नियम विपरित बजेट रकमान्तर गरेको तथ्य पनि बाहिर आएको छ । नगर प्रमुख लुटबहादुर रावतले बोर्ड बैठकमा छलफल नै नभएको एजेण्डामा निर्णय गराउँदै बजेट रकमान्तर गरेको शनिबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस निकट जनप्रतिनिधीले बताए । पत्रकार सम्मेलनमा नगर उपप्रमुख सञ्जुकुमारी चौधरीले आर्थिक अनियमितता गर्ने उद्देश्यले बजेट रकमान्तर भएको हुन सक्ने आशंका गरिन् । नगरपालिकाभित्र भएका आर्थिक अनियमितताको भण्डाफोर गर्दै आएपनि नगर प्रमुखले उल्टो आर्थिक अनियमितताको मलजल गरिरहेको बताईन् । नगर कार्यपालिका बैठकमा छलफल नै नभएको एजेण्डालाई नगर प्रमुख रावतले झुक्याएर निर्णय गराएको कांग्रेस निकट जनप्रतिनिधीको आरोप छ ।

केहीदिन अघि सम्पन्न भएको कार्यपालिका बैठकमा २९ बुँदे एजेण्डामाथी छलफल भएको स्मरण गराउँदै उपप्रमुख चौधरीले भनिन्, ‘बैठकमा हामीले पनि सबै एजेण्डालाई एक एक गरेर टिपोट गरेका थियौं, त्यतिबेला २९ वटा एजेण्डामाथी छलफल भएको हो, पछि एकैचोटी ३९ वटा बुँदामा निर्णय भएको थाहा पाईयो, बाँकी १० वटा बुँदा थपेर आफुखुसी निर्णय गराई प्रमाणिकरण गर्ने काम भयो, यसमा हाम्रो असहमती छ ।’ प्रमुख प्रशासकिय अधिकृत प्रेम देवकोटाले नगर प्रमुख रावतको आदेशमा १० वटा बुँदा थपेर प्रमाणिकरण गरिएको आफुलाई बताएको उनले सुनाईन् ।

आफुहरुलाई झुक्याएर पटक पटक कार्यपालिका बैठकबाट आफुखुसी एजेण्डा थपेर निर्णय गराउने गरेको भन्दै असन्तुष्टी पोखिन् । आफन्त र कार्यकर्तालाई सहयोग, भुक्तानी दिने जस्ता निर्णय नगर प्रमुख रावतले आफुखुसी गर्ने गरेको उनको भनाई छ । नगरपालिकाले नियम विपरित गरेका निर्णयको ठुलै चाङ रहेको नगर कार्यपालिका सदस्य बताउँछन् । केहीदिन अघि ताईवान देशबाट आएका पाहुनाको सत्कारका लागि भन्दै नगरपालिकाले बैठकबाट बजेट रकमान्तर गरेर नियम विपरित इन्रुडेक नामक एक गैर सरकारी संस्थालाई ४ लाख ४० हजार दिएको वडा नम्बर १० का वडाअध्यक्ष निमबहादु चलाउने (निरज) ले बताए । बोर्ड बैठकमा ताईवानी अतिथीको सत्कारका लागि बैजनाथ गाउँपालिकासँग मिलेर संयुक्त कार्यक्रम गर्ने छलफल भएपनि पछि इन्रुडेक संस्थालाई ४ लाख ५० हजार रुपैयाँ दिने भनि निर्णय गरेको थाहा पाएपछि आफुहरुले असहमती जनाईसकेको वडाअध्यक्ष चलाउनेले बताए ।

विशिष्ट अतिथी सत्कारका लागि नगरपालिकाले आफै कार्यक्रम गर्नुपर्नेमा आर्थिक अनियमितता गर्न बीचमा एनजिओलाई छिराएर ४ लाख ५० हजार नियम विपरित बाँडेको दाबी गरे । नगरपालिकाले अतिथी सत्कारका लागि भन्दै १ लाख रुपैयाँ बजेट विनियोजन गरेपनि चालु प्रशासनिक बजेटबाट रकमान्तर गरिएको जनप्रतिनिधी बताउँछन् । यस्ता थुप्रै कार्यक्रमका लागि नगरपालिकाले बजेट रकमान्तर गरेको कांग्रेस निकट जनप्रतिनिधी बताउँछन् । यसैबीच नगरपालिकाका प्रवक्ता माधव रिजालले कार्यपालिका बैठकमा भएका जतिपनि निर्णय छलफल भएरै पारित भएको बताएका छन् । उनले भने, ‘बजेट रकमान्तर गर्ने निर्णय कार्यपालिका बैठकबाटै भएको हो, उहाँहरुले कसरी अहिले असन्तुष्टी पोख्नु भयो, हामीलाई थाहा भएन ।’ अतिथी सत्कारका लागि कार्यपालिका बैठकले निर्णय गरेर एनजिओलाई रकम भुक्तानी दिने निर्णय गरिएको रिजालको जिकिर छ ।

कोहलपुर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी निकट जनप्रतिनिधीको बहुमत रहेको छ । बहुमतको दम्भमा नगर प्रमुख रावतले पटक पटक नियम विपरित निर्णय गर्दै आएपनि आफुहरुले प्रतिवाद गरेको नगर उपप्रमुख चौधरीले बताईन् । नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखले स्वकिय सचिव राख्न नपाउने परिपत्र आए लगत्तै आफुले नगरपालिकाको हितका लागि स्वकिय सचिव फिर्ता गरिसकेको उनको भनाई छ । नगर प्रमुख रावतले भने अझैपनि स्वकिय सचिव राखिरहेको जनप्रतिनिधीले बताएका छन् ।

 

Womui
Womui