ताप्लेजुङ हेलिकप्टर दुर्घटनाको वास्तविकता पत्ता लगाउन समस्या, अधिकांश सूचना प्रत्यक्षदर्शीका

98

छिनछिन खबर
काठमाडौं– ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समितिलाई समस्या परेको छ । दुर्घटनामा परेको हेलिककप्टरको अधिकांश भाग नष्ट भएकाले छानबिन गर्न समितिलाई अप्ठेरो परेको हो । हवाई जहाजमा जस्तो हेलिकप्टरमा ब्लयाक बक्स पनि नहुने भएकाले दुर्घटना अघि चालकले के कुरा गरेका थिए भन्ने बारे पनि जानकारी हुँदैन । यसैबीच छानबीनका लागि सरकारले गठन गरेको उच्चस्तरीयसमितिले घटनास्थलको अवलोकन गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा छानबिन समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार समितिले हेलिकप्टरबाट दुर्घटनास्थलको अनुगमन गरेको थियो । ’मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको तारेभिरमा ल्यान्ड गर्न सकेन’, उनले भने, ’तर, हामीले घटनास्थलको नजिकबाटै अवलोकन ग¥यौं ।’ पूर्व पर्यटनसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गएको छानबिन समितिले दुर्घटनास्थलमा अध्ययन र अनुसन्धानमा आवश्यक कुनै पनि प्रमाण भेटाउन सकेन । ’दुर्घटनास्थलमा छानबिनका लागि आवश्यक पर्नेजस्तो केही फेला परेन,’ समितिका सदस्यसचिव लामिछानेले भने । समितिले घटनास्थलको प्रकृति तथा स्थानीयहरुसँगको कुराकानीका आधारमा दुर्घटना मौसमकै खराबीका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । टोलीले चुहानडाँडा, पाथीभरालगायतका स्थानीय तथा प्रत्यक्षदर्शीसँग कुराकानी गरेको छ । सोही कुराकानीका आधारमा प्रतिवेदन तयार हुने भएको छ।

गत फागुन १५ गते ताप्लेजुङको तारेभीर जंगलमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारी अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे र पाइलट प्रभाकर केसीको निधन भएको थियो । सोही दुर्घटनाको अनुसन्धानका लागि सरकारले पूर्व पर्यटनसचिव गौतमको संयोजकत्वमा सहायक रथी दिपक प्रसाद बास्तोला र क्याप्टेन प्रमोद लामा सदस्य तथा लामिछाने रहनेगरी छानबिन समिति गठन गरेको थियो ।

Womui
Womui