सिके राउतसँगको सहमति मान्न सकिँदैनः भीम रावल

106

छिनछिन खबर
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम रावलले सरकार र सिके राउतबीच भएको सहमति मान्य नहुने बताएका छन् । उनले सरकार र सिके राउतबीच भएको सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामासमेत मागिने बताए । शनिबार रिपोटर्स क्लवले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले राउतसँग भएको सहमतिले राष्ट्रलाई विखण्डन गर्ने भन्दै असन्तुष्टी पोखे ।

रावलले भने, ‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन । सरकारले त्यस्तो प्रयास गर्नुपर्छ । तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन् ।’ उनले देशलाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दल एकजुट हुनु पर्ने भन्दै यसमा कसैको विरोध नहुने बताए । रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्देश्य, गन्तव्य र स्पष्ट धारणा हुनुपर्नेमा सिके राउतसँग सम्झौता गर्दा कुनै विषयमा पनि ख्याल नगरिएको आरोप लगाए ।

‘राउतजीले यदि नेपालको संविधानअनुसार अघि बढ्छु र यसअघि देश टुक्र्याउने र विखण्डनकारी अभिव्यक्ति दिएकोले अब म फिर्ता लिन्छु भनेर भन्नुपर्दथ्यो’ उनले भने । स्वतन्त्र मधेशको अर्थका बारेमा प्रधानमन्त्रीले नेपाली जनतालाई स्पष्ट जवाफ दिनु पर्ने बताए । उनले आफ्नै पार्टीका कतिपय साथीहरुले स्वतन्त्र मधेश संगठन भनेको त नाम हो भनेर हाँस्यस्पद तर्क गरेको पनि आरोप लगाए । रावलले सिके राउतले स्वयं आफ्नो फेशवुक पेजमा जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो भनेर पोष्ट गरेको सुनाए । शुक्रबार भएको सहमति नेपालको संविधानविपरित र पार्टीको विधानविपरित भएको उनको टिप्पणी छ ।

Womui
Womui