पानीजहाज सञ्चालन गर्न अध्ययन सुरु

136

छिनछिन खबर
काठमाडौं–नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्नका लागि अध्ययन सुरु गरिएको छ । सोमबारदेखि नेपाल र भारतका अधिकारीहरूले गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन थालेका छन् । दुई देशका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेका हुन् । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासेले बताए ।

अध्ययन अवलोकनपश्चात यस क्षेत्रमा पानीजहाज सञ्चालनको सम्भावना उच्च रहेको नेपाली टोलीका संयोजक बेल्वासेले बताए । नवलपरासीबाट भारतको गङ्गा नदी पुग्न करिब ३०० किलोमिटर र त्यसपछि गङ्गा नदीबाट समुद्र सतहसम्म पुग्न करिब ८४० किलोमिटर गरी यस क्षेत्रबाट कूल एक हजार १४० किलोमिटरको दूरीमा समुद्र रहेको छ । टोली फर्किएपछि यस क्षेत्रमा समेत पानीजहाज सञ्चालन गर्ने सम्भावनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने टोलीमा सहभागी वाणिज्य आपूर्ति मन्त्रालयका उपसचिव तर्कराज भट्टले जानकारी दिए ।

नेपालमा पानीजहाज सञ्चालन गर्ने उद्देश्यले जल यातायात अन्तर्गत पहिलो चरणको प्रक्रिया सुरु भएको टोलीमा सहभागी जल तथा ऊर्जा आयोगको सचिवालयका सिनियर डिभिजन इञ्जिनीयर महेश्वर श्रेष्ठले बताए । पानी जहाजलाई नेपाली भूमिमा कत्रो, कसरी र कुन रूपमा ल्याउन सकिन्छ भनेर अध्ययन गर्ने जिम्मेवारी पाएसँगै नेपाल र भारतको संयुक्त टोलीले स्थलगत अध्ययन गरेको हो । सरकारले अघिल्लो महिना पानी जहाज कार्यालयको स्थापना गरिसकेको छ ।

Womui
Womui