रोजगारीका लागि जापान जाने प्रक्रिया अन्तिम चरणमा

32

छिनछिन खबर
काठमाडौं– जापान रोजगारीको तयारी अन्तिम चरणमा पुगेको छ । कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम गर्न दुवै मुलुक सहमत भइसकेका छन् । मन्त्रालयका अनुसार कामदार पठाउने प्रक्रिया अप्रिलदेखि सुरु हुनेछ । त्यसअघि भाषा परीक्षा सञ्चालन गर्ने तयारी छ । ‘अप्रिलदेखि नै कामदार भर्ना छनोट सुरु हुनेछ’, मन्त्रालयका एक अधिकारीले भने ।


नेपाली कामदार लैजान जापानी र नेपाली प्राविधिक टोलीबीच निरन्तरको छलफलपछि श्रम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको हो । जापानसँग यसअघि प्रशिक्षार्थी कामदार लैजाने सम्झौता भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । जापान नेपालीका लागि आकर्षक गन्तव्य मुलुक मानिन्छ । जापानमा कामदारले न्यूनतम दुई लाख रुपैयाँ पारिश्रमिक पाउने अपेक्षा गरिएको छ । नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल तथा आतिथ्य व्यवसाय, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिलगायत १४ वटा क्षेत्र जापानले आप्रवासी कामदारका लागि खुला गरेको हो ।

विदेशी कामदार लैजाने नीति पारित गरेसँगै जापानले नेपालसहित नौवटा देशबाट एकैचोटि कामदार लैजाने प्रक्रिया अघि बढाएको छ । जापानले नेपाल, चीन, इन्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायत देशबाट कामदार लैजाने तयारी गरेको छ । जापानले केही महिनाअघि नेपाली कामदार लैजाने विषयमा अवधारणापत्र पठाएको थियो । अवधारणापत्रमाथि प्राविधिक टोलीले अध्ययन गरेको हो । जापानले पाँच वर्षको अवधिमा तीन लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ । जापानले ठूलो जनशक्ति वृद्ध अवस्थामा पुगेका कारण विदेशी कामदार लैजान लागेको हो ।

Womui
Womui