एसइईका प्रश्नपत्र प्रदेश अनुसार फरक–फरक, तीन घेरामा प्रश्नपत्र छापिँदै

36

प्रनिलबहादुर खड्का
काठमाडौं–माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र यस वर्षदेखि प्रदेशगत रूपमा तयार हुँदै छन् । प्रदेश अनुसार फरक–फरक प्रश्नपत्र तयार गरी ७२ सुरक्षाकर्मीको तीन घेरामा जनक शिक्षा सामग्री केन्द्रमा छपाइ भइरहेका छन् । अनिवार्य विषयमा प्रदेशस्तरीय प्रश्नपत्र हुने भए पनि ऐच्छिक विषयमा भने विद्यार्थी कम हुने भएकाले देशभरि नै एकै खाले प्रश्नपत्र बनाइनेछ । आउँदो चैत १० बाट सञ्चालन हुने परीक्षाका लागि प्रश्नपत्र छपाइ सुरु गरिएको हो ।


शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको सुरक्षा बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा प्रश्नपत्र छाप्ने निर्णय गरेको हो । पहिलो घेरामा नेपाली सेना, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाल प्रहरी राखेर प्रश्नपत्र छपाइ भइरहेको छ ।   २७ सेना, ३० सशस्त्र प्रहरी र १५ नेपाल प्रहरीका १५ सुरक्षाकर्मी प्रश्नपत्रको सुरक्षामा खटिएका छन् । एसइईको नतिजा लेटर ग्रेडिङ प्रणालीमा आउन थालेपछि सुरक्षाको जोखिम कम भए पनि संवेदनशील विषय भएकाले सुरक्षा व्यवस्था गर्नु परेको सरकारी अधिकारी बताउँछन् ।

यसैबीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् । परीक्षाको तयारीका सन्दर्भमा विभिन्न सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाइ, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको राम्रो तयारी गर्न निर्देशन दिए । प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विशेष ध्यान दिन आग्रह गरे ।

एक हजार नौ सय ६१ परीक्षा केन्द्र
आगामी १० चैतदेखि सुरु हुने एसइई परीक्षा सञ्चालनका लागि देशभरमा एक हजार नौ सय ६१ परीक्षा केन्द्र कायम गरिएको छ । अघिल्लो वर्ष एक हजार नौ सय ५४ केन्द्र थिए । एसइईका परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार सबैभन्दा बढी काठमाडौंमा एक सय १२ केन्द्र हुने भएका छन् । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक केन्द्र कायम गरिएको छ । यसवर्ष नियमिततर्फ पाँच लाख ११ हजारले रजिस्ट्रेसन फारम भरेका छन् । उत्तरपुस्तिका परीक्षणका लागि करिब ६२ वटा उपपरीक्षण केन्द्र कायम गरिएको छ ।

उत्तरपुस्तिका प्रदेशले तयार पारे
एसइईको प्रश्नपत्र केन्द्रबाट निर्माण भए पनि उत्तरपुस्तिका प्रदेश सरकारले छपाइ गरेको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा यस वर्षको प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका प्रदेशस्तरबाट तयार भएका हुन् । सातै प्रदेशले एसइईको उत्तरपुस्तिका जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ गरेका छन् । प्रदेशका कतिपय सामाजिक विकास मन्त्रालय र केही प्रदेशको क्षेत्रीय शिक्षा निर्देशनालयले जनक शिक्षा सामग्री केन्द्रसँग सम्झौता गरी उत्तरपुस्तिका छापेका छन् ।

Womui
Womui