दिल्ली जाँदै गरेका १९ महिला सीमा नाकाबाट फिर्ता

184

राँझा– नेपालगन्ज नाकाबाट भारततर्फ जाँदै गरेका १९ जना महिलालाई फिर्ता गरिएको छ । नेपालगन्जबाट दिल्ली जाने बसमा सवार उनीहरुलाई सीमाक्षेत्र जमुनाहबाट फिर्ता गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज वसन्त बस्नेतले बताए ।

‘दिल्ली जाने बसमा जाँच गर्दा शङ्का लागेपछि माइती नेपाल र साना हात संस्थासँगको सहकार्यमा सोधपुछ र परामर्शका लागि रोक्ने गरेका छौँ,’ इञ्चार्ज बस्नेतले भने, ‘कतिपयले खाडीमुलुक र इराक जानेसम्मका कुरा गरेकाले आवश्यक परामर्शका लागि माइती नेपालको जिम्मा लगाउने गरेका छौँ ।’
सीमा नाकाबाट फिर्ता हुनेमा मोरङ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, गुल्मीका महिला रहेका छन् ।

उनीहरुलाई माइती नेपालको नेपालगन्जस्थित कार्यालयमा राखेर परामर्श र पारिवारिक पुनरमिलनको लागि पहल भइरहेको माइती नेपालका संयोजक केशवराज कोइरालाले बताए । ‘विभिन्न जिल्लाका महिला दाङ पुगेर दिल्लीको बस चढ्नु आफैँमा शङ्कास्पद कुरा हो, त्यसैले हामीले उहाँहरुलाई रोकेर परामर्श गरिरहेका छौँ,’ कोइरालाले भने, ‘परामर्शपछि धेरैजसोले आफ्नो यथार्थता बताइसक्नुभएको छ, उहाँको परिवारसँग सम्पर्क गरी जिम्मा लगाउँछौं ।’ रासस

Womui
Womui