नरैनापुरमा मेला : कवाली सुन्न हजारौं ब्यक्ति उपस्थित

177

बाँके (नरैनापुर) , फागुन ६-
बाँकेको नरैनापुर गाउँपालिकामा चलिरहेको मेलामा कवाली सुन्न हजारौं ब्यक्ति उपस्थित भएका छन् । कवाली सुन्न भारतको श्रावस्ती, बहराइच, गोण्डा, बलरामपुर, गुजरातदेखि मानिसहरु नरैनापुर पुगेका छन् । मेलामा आइतबार राती भारतको कानपुर र इलाहाबादबाट आएका शरिफ परवाज र नेहा नाजले कवाली गाएका थिए । प्रतिकूल मौसमका बाबजुद पनि हजारौं ब्यक्ति कवाली सुन्न उपस्थित भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

मुस्लिम धर्मगुरुको सम्झनामा डेढ सय बर्षदेखि लाग्दै आएको मेला यस बर्ष पनि नरैनापुर गाँउपालिका वडा नम्बर २ को मियाँपुर्वामा शनिवारदेखि चलिरहेको छ । १८ बर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ । १२ गतेसम्म चल्ने मेलामा बाँके, बर्दिया लगायत छिमेकी मुलुक भारतको बहराइच, श्रावस्ती, गोण्डा, बलरामपुर लगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दर्शालुहरु आउने गरेको अध्यक्ष शाहले बताए । सबै धर्मका मानिसहरु पुगेर रमाइलो गर्ने र आपसी सद्भाब बढाउने मेलाको बिशेषता रहेको शाहको भनाई छ ।

मेलास्थलमा रहेको खलिफा सैयद नुर अहमद शाहको मजारप्रति दर्शालुहरुको धार्मिक आस्था रहेकाले च्यादर चढाउने, भाकल हाल्नेहरुको पनि मेलामा भीड लाग्ने गरेको छ । मेलामा दर्शकहरुको मनोरञ्जनका लागि भारतबाट आएका प्रशिद्ध नौटन्की नाचका साथै नेपाल र भारतका ब्यापारिक कम्पनीहरुको स्टलहरु समेत रहेका छन् ।

Womui
Womui