प्रादेशिक महोत्सवको तयारी धमाधम : भरपर्दो सुरक्षा ब्यवस्थापन गरिने

93

नेपालगन्ज, फागुन ५-
नेपालगन्जमा सञ्चालन हुन लागेको प्रादेशिक महोत्सव–२०७५ मा भरपर्दो सुरक्षा व्यवस्थापन गर्ने सम्वद्ध सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म नेपालगन्जस्थित सडक डिभिजन परिसरमा महोत्सव हुन लागेको हो । उक्त महोत्सव अवधीभर आईपर्ने सुरक्षा चुनौती र त्यसको समाधान कसरी गर्ने भन्ने बिषयमा आइतबार छलफल गरियो । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यतामा संघको कार्यालयमा प्रहरी, प्रशासनका जिल्लास्थित प्रमुखसँग बृहद छलफल भएको हो ।

आयोजक उद्योग वाणिज्य संघ र जिल्लास्थित सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्थापन गरिने संघका अध्यक्ष नन्दलाल बैश्यले बताए । छलफलका क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी भुजेल, नेपाल प्रहरीका बाँके प्र्रमुख एसपी अरुण पौडेल, खजुरास्थित दंगा प्रहरी गणका प्रमुख एसपी बीरबहादुर ओली, सशस्त्र प्रहरी गण महेन्द्रनगरका प्रमुख एसपी भेषबहादुर शाह, राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागितामा थियो ।

सुरक्षा निकायका प्रमुखहरुले महोत्सवमा सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । महोत्सव सुरक्षा तथा स्टल व्यवस्थापन समितिका संयोजक एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले महोत्सवमा आयोजकका तर्फबाट गरिने सुरक्षा प्रबन्धका बिषयमा जानकारी गराएका थिए । अघिल्ला महोत्सवमा प्रहरी, प्रशासनको तर्फबाट भएको सहयोगप्रति धन्यबाद दिदै मन्सुरीले यसपटक पनि सहयोगको अपेक्षा गरेको बताए । उनले उच्छृखंल गतिविधी र निषेधित कार्यलाई आयोजकले पूर्णरुपमा बन्देज गर्ने पनि जानकारी गराए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले महोत्सवमा आईपर्ने सुरक्षा चुनौती आन्तरिक रुपमा मात्र सामना गर्न नसकिने भएकाले प्रहरी, प्रशासनबाट सहयोगको आवश्यक रहेको बताए । छलफलमा संघका उपाध्यक्ष दुर्गाप्रसाद भण्डारी, सल्लाहकार, कार्यसमिति सदस्य लगायत उपस्थित थिए । महोत्सव प्रचार प्रसार समितिका संयोजक टंकप्रसाद धामीले सञ्चालन गरेको थिए । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मा रक्षक सेक्युरिटी कम्पनीले लिएको छ ।

Womui
Womui