मन्त्री राईद्धारा तीन ठुला आयोजना शिलान्यास

216

नेपालगन्ज, माघ २८-
शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सोमबार आफ्नो निर्वाचन क्षेत्रमा तीनवटा ठूला योजनाको शिलान्यास गरेका छन् । सोमबार बिहानैदेखि कार्यक्रममा ब्यस्त रहेका मन्त्री राईले सुरुमा शहरी विकास मन्त्रालयद्वारा नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर १४ मा ४५ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको नेपालगन्ज सभागृहको शिलान्यास गरेका थिए । त्यसपछि कारकादोस्थित बाइपास खजुरारोड कालोपत्रे तथा नाली निर्माण र चिल्डे«न पार्कको शिलान्यास गरे ।

१२ करोड बजेटको यो योजना २०७७ वैशाख २५ गतेभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । वडा नम्बर १२ मा सडक तथा नाली निर्माण बाल पार्क तथा पिक्निकस्थल निर्माण योजनाको पनि मन्त्री राईले शिलान्यास गरे । एक करोड ३४ लाख बजेटको योजना २०७७ वैशाख २५ गते कार्य सम्पन्न गर्ने गरी निर्माण सुरु भएको छ । शिलान्यास कार्यक्रममा प्रदेश सांसद विजय यादव, नेपालगन्जका मेयर डा. धवलशम्शेर राणा लगायतको सहभागिता रहेको थियो ।

त्यस अवसरमा मन्त्री राईले विकास बजेट विनियोजनको मामिलामा बाँके निर्वाचन क्षेत्र नम्बर २ देशकै सबैभन्दा बढी प्राथमिकताको निर्वाचन क्षेत्रमा परेको भन्दै यसलाई नमुना क्षेत्र बनाइने दाबी गरे । आफ्नो जिल्ला, नगर र गाउँको विकासका लागि सबै दल र स्थानीय बासिन्दा एकजुट हुनैपर्छ भन्दै उनले भने, ‘भोली निर्वाचनको बेलामा सबै आ–आफ्ना एजेण्डामा लागेपनि अहिले सबैले मिलेर विकासको एक मात्र एजेण्डामा लाग्नु पर्छ ।’ राईले आफ्नो निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत नेपालगन्ज र डुडुवामा अहिले झण्डै ४५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखिएको बताए ।

Womui
Womui