३ वर्षीया बालिकाको अपहरणपछि २ घन्टामै यसरी भयो उद्धार

47

छिनछिन खबर
काठमाडौं,माघ २८ । दाङमा अपहरित ३ वर्षीया बालिकाको प्रहरीले उद्धार गरेको छ। अपहरणको २ घन्टामै बालिकाको उद्धार गर्न प्रहरी सफल भएको हो।

दाङको साबिक राँचुली गाविस–४ कालिकोट घर भई घोराही उपमहानगरपालिका–१५ स्थित कपासीमा डेरा गरी बस्ने २२ वर्षीया अस्मिता शाहीकी ३ वर्षीया छोरीको अपहरण भएको थियो।सोमबार दिउँसो २ बजे शाहीको कोठाबाटै उनकी छोरीको अपहरण गरिएको थियो। बालिका अपहरण भएको खबर जिल्ला प्रहरी कार्यालय दाङमा आउनसाथ ठूलो संख्यामा प्रहरी परिचालन गरेर खोजी सुरु गरिएको थियो।‘राजमार्गमा र सीमा नाकामा विशेष चेकजाँच गरेका थियौं। बालिकालाई बोर्डर पार गराउन सक्ने हाम्रो अनुमान थियो,’ दाङका डिएसपी रामप्रसाद घर्तीमगरले भने, ‘अन्तत हामी सफल भयौं।’

प्रहरीले घोराही उपमहानगरपालिका–१५ स्थित रतनपुर चोकबाट बालिकाको सकुशल उद्धार गरेको हो भने अपहरणकारी पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ ढिकपुरका २८ वर्षीय प्रयास चौधरी छन्।बालिका अपहरण गर्नुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ।पक्राउ परेका चौधरीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

Womui
Womui