निर्मला पन्त हत्या प्रकरणः चौधरी र रावलको डिएनए मिलेन

80

छिनछिन खबर
काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आशंकामा लिइएको स्थानीय प्रदीप रावल र विशाल चौधरीको डिएनए परीक्षणको रिपोर्ट प्रहरीको अपराध अनुसन्धान विभागमा थन्किएको छ ।
विभाग स्रोतका अनुसार रावल र चौधरीको डिएनए नमिलेपछि त्यत्तिकै थन्किएको हो । चार दिनअघि नै रिपोर्ट आइसकेको थियो । प्रहरीसँगको बयानको क्रममा भने रावलले घटना स्विकार गरेका थिए । उनकै बयानका आधारमा प्रहरीले चौधरीलाई समेत पक्राउ गरेको थियो ।


निर्मला हत्या भएपछि रावल हराउनुले धेरै शंका गर्ने ठाउँ भएको भन्दै प्रहरीले पक्राउ गरी डिएनए जाँच गरेको थियो । रावलको बयानका आधारमा चौधरीको पनि डिएनए जाँचका लागि नमूना संकलन गरी नेपाल प्रहरीले आफ्नै विधिविज्ञान प्रयोगशाला पठाएको थियो । यसभन्दा अघि डिएनए जाँच नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा हुने गरेको थियो । सोही प्रक्रिया पूरा गर्न प्रहरीले रावल र चौधरीको डिएनए जाँच गर्न नास्ट पठाएको थियो । नास्ट स्रोतले गत बिहीबार नै डिएनए जाँच गरेर प्रहरीलाई पठाइसकेको जनाएको छ ।

नास्टबाट प्रहरीको अपराध अनुसन्धान ‘अ’ विभाग पुगेको डिएनए रिपोर्ट अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । प्रहरीले विधिविज्ञान प्रयोगशालामा गरेको जाँचका क्रममा यसअघि नै दुबैको डिएनए जाँच नमिलेको रिपोर्ट आइसकेकोले पनि नास्टको रिपोर्टप्रति चासो नदिइएको बताइएको छ । रावल पक्राउ परिसकेपछि केही नेताहरूले अपराधी पक्राउ परिसकेको बताउँदै आएका छन् ।

थप ७ जनाको पनि डिएनए परीक्षण
बालिका पन्तको बलात्कार हत्या आरोपमा दुई प्रहरीसहित थप ७ जनाको डिएनए जाँच गरेको छ । राष्ट्रिय अनुसन्धान विभागका २ जना सिपाही र थप ५ जना गरी ७ जनाको डिएनए जाँच गरिएको प्रहरीका एक अधिकृतले बताए । उनीहरुको डिएनए रिपोर्ट आइसकेको छैन ।

Womui
Womui