फ्रान्समा कामदारको न्यूनतम पारिश्रमिक १०० युरोले बढ्दै

34

एजेन्सी– फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले इन्धनमाथिको कर बृद्धिको विरोधमा सुरु भएको ‘ऐल्लो भेस्ट’ प्रदर्शन र त्यसले लिएको समग्र महंगीको विरोधको रुपको सम्बोधनका लागि कल्याणकारी योजना ल्याउने घोषणा गरेका छन् । फ्रान्सेली राष्ट्रपति म्याक्रोनले टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै न्यूनतम पारिश्रमिक बढाउने तथा करमा छुट दिनेसहितका कल्याणकारी योजना ल्याउने घोषणा गरेका हुन् ।


फ्रान्समा इन्धनमाथिको कर बढेसँगै भएको मंहगीको विरोधमा चार हप्तादेखि प्रदर्शन जारी छ । प्रदर्शनले हिंसात्मक रुप लिएपछि राष्ट्रपति म्याक्रोनले राष्ट्रका नाममा सम्बोधन गरेर समस्या समाधानको प्रयास गरेका हुन् । इन्धनमा भएको कर बृद्धि, महंगी तथा अरु मुद्दामा भएको आन्दोलनमा सहभागीका माग जायज रहे पनि प्रदर्शन हिंसात्मक बन्नु राम्रो नरहेको राष्ट्रपति म्याक्रोनले बताए । उनले हिंसाको आलोचना गरे ।  राष्ट्रपति म्याक्रोनले सन् २०१९ देखि न्यूनतम पारिश्रमिकमा महिनाको १०० युरो बृद्धि गरिने बताएका छन् । यस्तै कम आएका पेनसनवालले बढेको कर तिर्नु नपर्ने पनि उनले घोषणा गरेका छन् । यस्तै ओभर टाइममार्फतको आयमा कर नलाग्ने पनि उनले बताएका छन् ।

यस्तै रोजगारदातालाई वर्षको अन्त्यमा कररहित बोनस दिनका लागि पनि प्रोत्साहित गरिनेछ । चार हप्तासम्म प्रदर्शनलाई नजरअन्दाज गरेको जस्तो देखिए पनि अन्ततः म्याक्रोन प्रदर्शनकारीका मागबारे बोल्न बाध्य भए र कल्याणकारी योजनाको घोषणा गरेका हुन् । प्रदर्शनकारीले राष्ट्रपति म्याक्रोनको योजना अपूर्ण रहेको प्रतिक्रिया दिएको बताएका छन् ।

Womui
Womui