निर्मला हत्यामा दुई जनाले अपराध स्वीकार गरेका छन्ः सिआइबी

120

छिनछिन खबर
काठमाडौं, मंसिर २२ । निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ । सामूहिक बलात्कारपछि हत्या गरेको उनीहरूले स्वीकार गरे पनि मुद्दा दर्ताका लागि डिएनए परीक्षणको रिपोर्टलाई पर्खेको प्रहरीका एक अधिकारीले बताए । पक्राउ परेका व्यक्तिहरूले बयानको क्रममा निर्मलाको हत्या गरेको साविती बयान दिएका प्रहरीको दावी छ । प्रहरीका अनुसार प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको सिआइबीको भनाइ छ । महेन्द्रनगर–१८ भगतपुर घर भएका उनीहरू दुवै साथी हुन् । निर्मलाका छिमेकी भएकाले उनीहरूको चिनजान पहिलेदेखि नै थियो ।


पक्राउ परेका युवा लागुऔषध सेवनकर्ता समेत रहेको प्रहरीको भनाइ छ । उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा संलग्नताको बलियो आधार देखाएको अधिकारीहरू बताउँछन् । पक्राउ परेका अर्का दिनेश चौधरीको भने प्रत्यक्ष संलग्नता नदेखिएको बताइएको छ । विशाल र दिनेशलाई महेन्द्रनगरबाट काठमाडौं ल्याएर सोधपुछ अघि बढाइएको छ । उनीहरूलाई अभिभावकसहित काठमाडौं ल्याइएको हो । प्रदीप भने काठमाडौंमै पक्राउ परेका हुन् । निर्मलाको हत्यापछि भारतमा लुकेर बसेका प्रदीप केही दिनअघि मात्र काठमाडौं आएका थिए ।

Womui
Womui