निर्मला हत्या प्रकरणः आरोपी प्रदीप रावलको डिएनए परीक्षण रिपोर्ट आज आउँदै

42

छिनछिन खबर
काठमाडौँ, मंसिर २१ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेका उनका छिमेकी प्रदीप रावलको डिएनए परीक्षणको रिर्पोट शुक्रबार (आज) प्राप्त हुँदैछ । हत्यामा उनको संलग्नताको बलियो आधार फेला परेको प्रहरी दाबी गरेको छ । प्रहरीका अनुसार रावलले सामूहिक रुपमा बलात्कार गरेको साबिती बयान दिइसकेका छन् । सोही बयानलाई पुष्टि गर्न प्रहरीले डिएनए परिक्षणको रिपोर्टलाई पर्खेको जनाएको छ ।
रावल केही दिनअघि राजधानीबाट पक्राउ परेका थिए ।


प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा रावलसँग बयान लिइएको थियो । शुक्रबार प्राप्त हुने डिएन परीक्षण रिपोर्टले घटनामा उनको संलग्नताबारे वास्तविकता टुंगो लगाउनेछ । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्न जिल्ला खटिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको पछिल्लो टोलीले कन्चनपुरमा तीन महिना बसेर अनुसन्धान गरेको थियो । साथीकोमा जान्छु भन्दै घरबाट निस्किएकी निर्मलाको शव त्यसको भोलिपल्ट अर्थात साउन ११ गते स्थानीय एक उखुबारीमा भेटिएको थियो ।

सीआइबीमा कार्यरत डीएसपी अंगुर जिसी नेतृत्वको टोलीले एक महिना लगाएर गरेको अनुसन्धानपछि स्थानीय दिलिपसिंह बिष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर डीएनए परीक्षणमा निर्मलाको भेजिनल स्वाबमा भेटिएको डीएनए प्रोफाइलसँग विष्टको डिएनए नमिलेपछि उनी छुटेका थिए । अनुसन्धानमा लापरबाही गरेको भन्दै डीएसपी जिसी अहिले निलम्बनमा छन् ।
कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इलाका प्रहरी प्रमुख जगदीश भट्ट बर्खास्तीमा परिसकेका छन् । चार बित्दासमेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै देशभर आन्दोलन भइरहेको छ ।

Womui
Womui