‘हुवावे’की प्रमुख वित्तीय अधिकृत क्यानाडामा पक्राउ, अमेरिका सुपुर्दगी गर्ने तयारी

109

ओटावा,मङ्सिर २० । चिनियाँ दूरसञ्चार कम्पनी ‘हुवावे’ संस्थापककी छोरी एवम् कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ। उनलाई संयुक्त राज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका छन्।चीनले भने उक्त पक्राउ र दुर्व्यवहारप्रति आपत्ति जनाएको छ।

मेङ वानझाउ हाल हुवावेकी प्रमुख वित्तीय अधिकृत हुन्। इरानमाथिको अमेरिकी नाकाबन्दीको हुवावेले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीहरुले अनुसन्धान सुरु गरेको बताइएको छ। अमेरिकी गुप्तचर अधिकारीहरुले हुवावेका गतिविधिमाथि निगरानी गरिरहेको र उक्त कम्पनी राष्ट्रिय सुरक्षाका दृष्टिले खतरापूर्ण रहेको बताउँदै आएका छन्।संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबका सन्दर्भमा तीन महिने युद्धविराम गरेको केही दिनभित्रै नयाँ विवाद सतहमा आएको छ। दुबै देशका व्यापार मध्यस्थकर्ताहरुमाथि तीन महिनाभित्र असमझदारीहरु हटाउनुपर्ने गहन जिम्मेवारी छ।

मेङको गिरफ्तारीसँगै एसियाली सेयर बजारमा त्यसको असर देखिएको छ। साङ्घाइ र हङकङको सेयर बजारमा गिरावट आउनुका साथै प्रविधि क्षेत्रको सेयरमा मन्दी छाएको छ। मध्यान्हसम्म साङ्घाइ स्टक एक्सचेन्ज एक दशमलब ३ र हङकङ स्टक दुई दशमलब ६ प्रतिशतले घटेको छ।‘चीनले हाम्रो राष्ट्रिय सुरक्षा चासोलाई सुझबुझपूर्ण किसिमले बेवास्ता गरिरहेको छ र संयुक्त राज्य अमेरिका तथा हाम्रा गठबन्धन राष्ट्रहरुले यस्तो परिस्थितिलाई टुलुटुलु हेरेर बस्न सक्दैनन्,’ अमेरिकी सिनेटर बेन सास्सेले भने। उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कहिलेकाहीं चिनीयाँ अतिक्रमण पूरै राज्य–प्रवर्द्िधत देखिन्छ भने कहिलेकाहीं चीनका तथाकथित निजी कम्पनीहरुले यो कार्य गरिरहेका छन्।’

क्यानाडाको न्याय मन्त्रालयले एक वक्तव्यमा मेङलाई भ्यानकुभरबाट डिसेम्बर १ तारिखमा गिरफ्तार गरिएको जनाएको छ। मन्त्रालयले मेङलाई अमेरिका सुपुर्दगी गर्न आग्रह गरिएको बताएको छ। मेङका पिता एवम् हुवावेका संस्थापक रेन झेङफाई चिनीया जनमुक्ति सेनाका पूर्व इन्जिनियरसमेत हुन्।ओटावास्थित चिनीयाँ राजदूतावासले मेङलाई तत्काल रिहा गर्न आग्रह गरेको छ।हुवावेले मेङले कुनै गलत कार्य गरेको बारेमा जानकारी नभएको बताउँदै आरोपका बारेमा ज्यादै कम जानकारी दिइएको बताएको छ।कम्पनीले जारी गरेको एक वक्तव्यमा भनिएको छ, ‘हुवावेले सबै किसिमका कानुनी प्रक्रिया पूरा गरिरहेको छ। राष्ट्रसंघ, अमेरिका र युरोपेली युनियनबाट जारी भएका प्रतिबन्धहरु एवम् नियमहरुलाई पूर्ण पालना गरिएको छ।’वालस्ट्रिट जर्नलले अप्रिलमा अमेरिकी न्याय विभागले इरानविरुद्ध अमेरिकी प्रतिबन्धलाई हुवावेले उल्लङ्घन गरिरहेको भन्दै छानबिन थालेको समाचार प्रकाशन गरेको थियो। रासस

Womui
Womui