३ करोडभन्दा बढी बक्यौता नतिरेपछि सौर्यको नियमित उडान बन्द

28

छिनछिन खबर
काठमाडौं,मङ्सिर २० । निजी हवाई सेवा प्रदाय कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयलाई ३ करोडभन्दा बढी बक्यौता नतिरेपछि उडान बन्द भएको छ।एयरलाइन्सले बारम्बार बक्यौता तिर्न समय दिए पनि रकम भुक्क्तानी नगरेपछि नियमित उडान बन्द गराएको कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।

उनका अनुसार एयरलाइन्सले सोमबार भित्र केही बक्यौता चुक्ता गर्ने जनाएको छ। एयरलाइन्सले बक्यौता चुक्ता नगरेसम्म उडान हुन नदिने उनको भनाइ छ।‘एयरलाइन्सले माघदेखि ताकेता गर्दा अहिलेसम्म १ करोड ७० लाख रुपैयाँ तिरेको छ। अब तिर्न बाँकी झन्डै तीन करोड छ। रकम तिर्दा पनि एयरलाइन्स अति नै न्यून रकमका दरले चुक्ता गर्दा समस्या आएको छ’, उनले भने।दीपक पोखरलेको स्वामित्वमा रहँदा नै सौर्य एयरलाइन्सले विमानस्थल कार्यालयलाई झन्डै ३ करोड रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने अवस्था थियो। तर, आर्थिक संकट बढ्दै गएपछि पोखरेलले एयरलाइन्स ६१ करोडमा बिक्री गरेका थिए।

साउनको अन्तिम साता व्यवसायी श्याम अधिकारी, श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थीको नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स खरिद गरेको हो।खरिद गर्दा एयरलाइन्सले विमानस्थल कार्यालयलाई बाँकी रहेको रकम तिर्ने सहमति भएको थियो। तर, नयाँ व्यवस्थापनले एयरलाइन्स कम्पनी खरिद गरेर नियमित उडान सुरु गरेको तीन महिना हुँदा पनि बक्यौता चुक्ता गरेको छैन।अहिले सौर्य एयरलाइन्स कम्पनी रामप्रसाद पन्थीका छोरा बुद्धिराज पन्थीको नाममा हस्तान्तरण भएको छ। तर सञ्चालक टिममा भने अरु पनि सदस्य छन्।सौर्यसँग सिआरजे २०० सिरिजका दुईवटा जहाज छन्। एउटा जहाजले नियमित उडान भरिरहेको छ। अर्को जहाजमा प्राविधिक समस्या आएकाले उडान भरेको छैन।

Womui
Womui