बाख्राको ब्यवसायिक कारोबार गर्न केन्द्र स्थापना

318

नेपालगन्ज, मंसिर १६-
बाँकेको ढकेरीमा बाख्रा ब्यवसाय केन्द्र स्थापना गरिएको छ । हेफर इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघ बाँकेले उक्त केन्द्र स्थापना गरेको हो । उक्त केन्द्र सञ्चालनको सम्पुर्ण जिम्मा संघलाई दिइएको छ । उक्त केन्द्रमार्फत साना किसानले उत्पादन गरेका खसी बोका र बाख्रा सामुहिक रुपमा संकलन गरी शहरी क्षेत्रमा लगेर विक्री गरिनेछ । यसले गर्दा किसानको आर्थिक अवस्था सुधार हुने अपेक्षा गरिएको छ । उक्त केन्द्रसँग बाँके, बर्दिया र दाङका करिव १५ हजार महिला कृषक आवद्ध छन् । केन्द्रमा रहेको आधुनिक खोरमा करिव ५ सय वटा खसी बोका र बाख्रा एकै पटक राख्न सकिन्छ ।

संघकी अध्यक्ष गंगा चन्द ठकुरीले विभिन्न समुह तथा सहकारीमा आवद्ध महिला कृषकले उत्पादन गरेको खसीबोका र बाख्रा ब्यवसाय उक्त केन्द्रमार्फत नेपालगन्ज, काठमाडौं, पोखरामा ब्यवसायिक रुपले विक्री गरिने बताईन् । उनले भनिन्, ‘केन्द्रमार्फत बार्षिक रुपमा १६ हजार खसीबोका उत्पादन हुन्छ, केन्द्रले आफ्नै ढुवानी साधनबाट माग अनुसार बाहिर पठाएर बिक्री गर्छ ।’ केन्द्रको उद्घाटन गर्दै कृषि मन्त्री चक्रपाणी खनाल (बलदेव) ले सरकारी निकायकै चरम लापरबाहीले गर्दा भारतबाट अस्वच्छ माछा, मासु भित्रिरहेको बताए । बाँकेको ढकेरीमा आइतबार बाख्रा ब्यवसाय केन्द्र उद्घाटन गर्दै मन्त्री खनालले स्वदेशमा माछा, मासु उत्पादन भएपनि उपभोक्तामा चेतना नहुँदा भारतबाट भित्रिने अस्वच्छ माछा, मासु उपभोग गर्ने गरेको बताए ।

भारतबाट भित्रिने अस्वच्छ माछा, मासु चेकजाँचमा पशु क्वारेन्टाईन लगायत कार्यालयले चरम लापरबाही गरेको उनले आरोप लगाए । ‘भारतबाट नेपाल भित्रिने माछामा फर्मालिनको अत्यधिक प्रयोग हुन्छ, त्यही माछा नेपाली उपभोक्ताले खाईरहेका छन्,’ खनालले भने ‘नेपाली किसानले उत्पादन गरेको स्वच्छ माछालाई उपभोक्ताले रुचाउँदैनन्, हाम्रो समाजमा चेतनाको कमी भयो ।’ प्रदेश नम्बर पाँचकी कृषि मन्त्री आरती पौडेलले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले बाँके लगायत विभिन्न जिल्लामा कार्यक्रम ल्याएको बताईन् । प्रदेश पाँचकी सांसद कृष्णा केसी ले किसानले उत्पादन गर्नुभन्दा विक्री गर्न समस्या भईरहेको बताईन् । यसका लागि सरकारले उत्पादनलाई सुपथ मुल्यमा ब्यवस्थापन गरिदिनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा पशु सेवा विभागका रुद्रप्रसाद न्यौपाने, कांग्रेस बाँकेका सचिव कपिलदेव शर्मा, पशु चौपाया ब्यवसायी संघका अध्यक्ष जीवन खतिवडा, हेफरका सिनियर भाईस प्रेसिडेन्ट महेन्द्र नाथ लोहनी, हेफर नेपालका कन्ट्री डाइरेक्टर शुभनारायण महत्तो, निर्देशक तिर्थराज रेग्मी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

Womui
Womui