सुर्खेतमा जन्मिए पेट र छाती जोडिएका जुम्ल्याहा बालिका

83

छिनछिन खबर
सुर्खेत, मंसिर ३ । 
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकालाई जन्म दिएकी छन्।रास्कोट नगरपालिका–५, कालिकोटका २८ वर्षीया ललिता बुढाले आइतबार दिउँसो ३ बजेर १५ मिनेटमा जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन्।


शनिबार प्रदेश अस्पतालमा भर्ना भएकी ललिताको शल्यक्रियाबाट बच्चा निकालिएको बालरोग विशेषज्ञ डा. नवराज केसीले जानकारी दिए। बालिकाको तौल ३ किलो ६०० ग्राम छ।आमाको अवस्था सामान्य छ। जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु जोडिएको हुनसक्ने अनुमान गरिएको छ। सोमबार भिडियो एक्सरेपछि मात्र त्यसबारे पत्ता लाग्ने डा. केसीले बताए। एक्सरेपछि उनीहरूको शल्यक्रिया गर्नुपर्ने र शल्यक्रिया सफल हुनसक्ने केसीले बताए।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा. राजीव शाहको नेतृत्वमा डा. रवीन खातुङ, डा. महेश पौडेल र शल्यक्रिया कक्षमा रहेकी नर्स विनिता बस्यालसहितको चिकित्सक टोलीले शल्यक्रिया गरेर जुम्ल्याहा बालिकालाई जन्म दिइएको हो।

ललिताका पति बिर्खबहादुर बुढाले उनलाई चार दिनसम्म कालिकोट अस्पतालमा राखेका थिए। जिल्ला अस्पतालले त्यहाँ बच्चा जन्माउन नसकिने अवस्था रहेको भन्दै प्रदेश अस्पताल रेफर गरेको उनले बताए। ’लामो समयसम्म बेथाले च्यापेकी श्रीमती र बच्चालाई सकुशल देख्न पाउँदा खुसी लागेको छ,’ उनले भने।उनले शल्यक्रिया गरेर पत्नी ललिता र जुम्ल्याहा बालिका बचाउन सहयोग गर्ने चिकित्सक टोलीलाई धन्यवाद दिए। बालिकाहरूको जीवन बचाइदिन सरकारसँग सहयोगको आग्रह पनि गरे।

Womui
Womui