सिक्टा सिँचाइमा काम नगर्ने कोस्टाल पप्पु कन्स्ट्रक्सन कालोसूचीमा

246

मालती ओली
काठमाडौं, मंसिर ३ । सिक्टा सिँचाइको काममा ढिलासुस्ती र लापरवाही गर्ने पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय भएको छ । नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेर सिक्टा सिँचाइ आयोजना कार्यालयले पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । कालोसूचीमा राख्ने निर्णय गरेको आयोजना कार्यालयले उक्त निर्णय कार्यान्वयन गराउन सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ ।

आयोजना कार्यालयले कात्तिक २१ गते पप्पुसँगको ठेक्का तोडेको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले आयोजनाको मागबमोजिम कालोसूचीमा राख्ने निर्णय सदर गरेमा पप्पुले देशभरि कुनै पनि ठेक्कामा काम गर्न पाउनेछैन । सम्झौता गरी हाल काम गरिरहेका आयोजनामा कालोसूचीको निर्णयले कनै असर गर्ने छैन । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्कीले अब पप्पुसँग धरौटी र मोबिलाइजेसनबापतको रकम असुल गरिने बताए ।

पप्पुले २८ महिनाअघि राष्ट्रिय गौरवको सिक्टा सिँचाइको २३ किलोमिटर लामो डुडुवा शाखा नहर बनाउन ९८ करोड ८१ लाख रुपैयाँमा ठेक्का लिएको थियो । तर, सम्झौता अवधि सकिँदासम्म पप्पुले ७ प्रतिशत मात्र काम गरेपछि ठेक्का तोडेको आयोजना कार्यालयले जनाएको छ । निकै सुस्त गतिमा काम गरिरहेको पप्पुले आयोजनासँग मोबिलाइजेसनबापत ८ करोड ३९ लाख रुपैयाँ भुक्तानी लिएको छ । आयोजनाले पप्पुको ९ करोड ९० लाख रुपैयाँ बैंक जमानत राखेको छ । ‘कालोसूचीमा राख्ने निर्णयसँगै पप्पुको बैंक जमानत जफत गरी मोबिलाइजेसनबापतको रकम फिर्ता प्रक्रिया थालिसकेका छौं,’ कार्कीले भने ।

Womui
Womui