शशांक, शेखर र सुजाताको एउटै मञ्चबाट कुनै तिक्तता नभएको स्पष्टोक्ति

150

छिनछिन खबर
विराटनगर,मंसिर २ । नेपाली कांग्रेसको केन्द्रीय तहमा रहेका कोइराला परिवारका तीन सदस्यले आफूहरुबीच कुनै तिक्तता नरहेको स्पष्ट गरेका छन् । लामो समयदेखि उनीहरूबीच राम्रो सम्बन्ध नरहेको चर्चा हुँदै आएको थियो । केन्द्रीय सदस्य शेखर कोइरालाले कोइराला परिवारभित्र कुनै पनि तिक्तता नरहेको बताए । आइतबार विराटनगरमा जीपी कोइराला फाउण्डेशन प्रदेश नम्बर एक कार्यालयको उदघाटनका क्रममा कोइरालाले आफ्नो परिवारभित्र कतै कसैप्रति तिक्तता नरहेको प्रष्ट पारे । उनले भने, ‘हामी तीनै जनालाई एकस्थानमा ल्याउनका लागि गरिएको यो कार्य प्रशंसनीय छ ।’ कोइरालाले आफूहरु सधैँ एकैठाउँमा रहेको प्रष्ट पारे ।


कोइरालाले कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने जिकिर गरे । वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता दिग्गज नेताहरुले देखेको सपना पूरा गर्नका लागि आफूहरु एकैस्थानमा उभिएको कोइरालाको भनाइ छ । वर्तमान सरकार राजनीतिक तरलता र अस्थिरतामा रुमलिएको बताएका नेता कोइरालाले नीतिगत भ्रष्टाचारले सरकारलाई दलदलमा फसाएको आरोप लगाए । पछिल्लो समय बुढीगण्डकी, नेपाल एयरलाइन्सको वाइडबडी विमान तथा विभिन्न पदाधिकारी नियुक्त त्यसको ज्वलन्त उदाहरण भएको उनको भनाइ थियो ।

कार्यक्रम आयोजक फाउण्डेशनकी प्रदेश नम्बर एक संयोजक इन्दिरा थापाले तीन जना कोइरालालाई एउटै माला भिराइदिइरहँदा महामन्त्री डा. शशांक कोइरालाले कोइराला परिवारमा कुनै असमझदारी नरहेको स्पष्ट पारे । पार्टी सभापतिको आकांक्षीका विषयमा उनले विगत वीपी कोइरालाले परशुनारायण चौधरीलाई प्रधानमन्त्री बनाउने भन्दै अघि सारेको अभिब्यक्तिलाई उदाहरण स्वरुप प्रस्तुत गरे । कोइराला परिवारबाट सभापतिको दावीका विषयमा महामन्त्री कोइरालाले भने, ‘कोइरालाहरुको रगतमा छ राजनीति अनि नेतृत्व जसका लागि म नै या शेखर’ दा या उनी (सुजाता) नै सभापति हुनुपर्छ भन्ने छैन, हामीबीच प्रतिस्पर्धा छैन ।’ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको २०४८ सालदेखि ५२ सालसम्म कार्यकाल नेपालको स्वर्णकाल भएको बताएका महामन्त्री कोइरालाले सोही समय नेपालको विकास धेरै भएको दावी गरे ।

कार्यक्रममा नेतृ सुजाता कोइरालाले पनि कोइराला परिवारबीच कुनै तिक्तता नभएको स्पष्ट पारेकी थिइन् । त्यसैगरी, मोरङको राजनीतिमा फुट रहेको बताएका केन्द्रीय सदस्य अमृत अर्यालले आफूहरुबीच एकताको आवश्यकता जरुरी रहेको औँल्याएका थिए ।

Womui
Womui