विदेशी अनुदानमा होइन, लगानी भित्र्याउनमा जोड दिउँ

31

छिनछिन खबर
काठमाडौं,कात्तिक २८ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देश विकासका लागि सधैँ विकसित देशको मुख ताक्न नसकिने बताएका छन्। पछिल्लो समय विकसित देशहरुले विकासशील र विकासोन्मुख देशको विकासमा आर्थिक अनुदान घटाउँदै लगेको बताउँदै मन्त्री ज्ञवालीले अब नेपालजस्तो देशले विदेशीको सहयोगमा मात्र विकासको लक्ष्य तय गर्न नसक्ने र अबको लक्ष्य लगानी भित्र्याउने हुनुपर्ने बताएका छन्।

छिट्टै हुने जापान भ्रमणको क्रममा जापानबाट अधिकतम लगानी भित्र्याउन आफ्नो प्रयास रहने मन्त्री ज्ञवालीले बताए। आफ्ना जापानी समकक्षी तारो कानोको औपचारिक निमन्त्रणमा आगामी मंसिर १ गते देखि ५ गतेसम्म मन्त्री ज्ञवालीले जापानको औपचारिक भ्रमण गर्दैछन्।‘नेपालको विकासमा जापान एक प्रमुख दाताको रुपमा रहेको छ। २०७२ मा गएको भूकम्पका बेला पनि जापानले नेपाललाई महत्वपूर्ण सहयोग गरेको थियो’, मन्त्री ज्ञवालीले भने, ‘जापानले नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिन र सहयोगका अरु क्षेत्रहरु पहिल्याउन पनि जापानको औपचारिक भ्रमणमा जान लागिएको हो।’ जापानमा रहँदा मन्त्री ज्ञवाली ‘जेट्रो’ लगायतका जापानी संस्थाको आयोजनामा हुने एक लगानी सम्मेलन तथा अन्तरक्रियामा सहभागी हुने कार्यक्रम तय भएको छ।

मन्त्री ज्ञवालीले नेपालले विदेशी लगानी भित्र्याउँदा पूर्वाधार विकास, जलविद्युत आयोजना लगायतका क्षेत्रमा बढी ध्यान केन्द्रित गर्ने स्पष्ट पारे। बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन्।यस्तै मन्त्री ज्ञवालीले सरकारले पूर्ववर्ति सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने कुनै योजना नभएको स्पष्ट गरे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार गठन भएपछि नै सरकारले पूर्ववर्ति सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने चर्चा चलेको थियो। ‘देशको प्रतिनिधित्व गरेर विदेशमा राजदूतका रुपमा कार्य गर्दै आएका राजदूतहरुलाई फिर्ता बोलाउने हाम्रो कुनै योजना छैन’, मन्त्री ज्ञवालीले भने, ‘तर, राजदूतहरुको कार्यसम्पादनलाई भने सरकारले नजिकबाट अध्ययन गरिरहेको छ।’आफू परराष्ट्रमन्त्री भएको आठ महिना भएको जनाउँदै उनले यति अवधि राजदूतहरुको कार्यसम्पादन मूल्याङकन गर्न लाग्ने जिकिर गरे।

मन्त्री ज्ञवालीले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईको मन्त्रालयलाई खाँचो महशुस भएर फिर्ता बोलाइएको दाबी गरे। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई उनको समयावधि सकिनुअघि नै मन्त्रालय फिर्ता बोलाउने निर्णय गरेको थियो। रिक्त रहेको संयुक्त राष्ट्रसंघको न्युर्योकस्थित नेपाली स्थायी प्रतिनिधि पदमा नियुक्तिका लागि उनलाई मन्त्रालय झिकाइएको पनि चर्चा छ।चिनियाँ संस्कृति मन्त्री लुओ सुगांग नेपालको औपचारिक भ्रमणमा रहेको बताउँदै मन्त्री ज्ञवालीले ‘नेपाल पर्यटन भ्रमण वर्ष २०२०’ मा अधिकतम चिनियाँ पर्यटक नेपाल भित्र्याउने विषयमा छलफल भएको बताए। भ्रमण वर्षका अवसरमा नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। यसका लागि चीन सरकारसँग थप हवाई सेवा विस्तार गर्ने विषयमा पनि चिनियाँ संस्कृति मन्त्रीसँग छलफल भएको उनले जानकारी दिए।

Womui
Womui