डुन्डुवा नहर बनाउने पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडियो, पप्पु कालोसूचीमा

132

छिनछिन खबर
नेपालगन्ज, कात्तिक २६ । जलस्रोत तथा सिँचाइ विभागले सिँक्टा अन्तर्गतको डुन्डुवा सिँचाइ प्रणालीको ठेक्का तोडेको छ । ठेकेदारले सम्झौता अनुसार काम नगरेपछि ठेक्का तोडिएको हो । सिक्टा राष्ट्रिय गौरवको सूचीमा रहेको देशकै ठूलो सिँचाइ आयोजना हो । यसअन्तर्गत विगत दुई वर्षदेखि डुन्डुवा सिँचाइ प्रणाली सुधारको कामसमेत भइरहेको थियो । उक्त काम ठेकेदारले आलटाल गर्दै आएको र यसबाट आयोजना प्रभावित भएकाले सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए । उक्त सिँचाइ प्रणालीको ठेक्का अहिले देशमै बदनाम कम्पनी पप्पु कन्स्ट्रक्सनले लिएको थियो । कोस्टल–पप्पु जेभीका नाममा रहेको एसआइपीरडिआइएसरएमसीरआइसिबी–०१ नम्बरको ठेक्का गत कात्तिक २१ गते तोडिएको विभागले जानकारी दिएको छ ।

‘ठेकेदारलाई पटक–पटक ताकेता गर्दा पनि लक्ष्यअनुसार काम हुन सकेन,’ पण्डितले भने, ‘सार्वजनिक सूचना निकालेर दबाब दिँदा समेत काम अघि बढ्न सकेन । बाध्य भएर ठेक्का तोडिएको हो ।’ ९८ करोड ८१ लाख रुपैयाँमा सन् २०१६ जुन २० तारिखमा सम्झौता भएको थियो । ठेकेदारले सन् २०१८ अक्टोबर ८ सम्म जम्मा ६.९ प्रतिशतमात्र काम गरेको विभागले जनाएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) तथा ठेक्का सम्झौताको एफआइडिआइसीको बुँदा नं. १५.२ (बी) अनुसार ठेक्का अन्त्य गरिएको विभागको निर्णयमा उल्लेख छ । ठेक्का तोडिएसँगै निर्माण व्यवसायीले राखेको जमानतबापतको सम्पूर्ण रकम जफत गर्ने निर्णय पनि भएको छ । विभागले सम्झौता अनुसार बाँकी रहेको निर्माण पूरा गर्न लाग्ने रकम पप्पुसँग सरकारी बाँकी सरह असुलउपर गर्ने निर्णयसमेत गरेको छ । र, निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्र पठाउने निर्णयसमेत भएको छ ।

Womui
Womui