जापानमा श्रमिक अभाव, अब विदेशी कामदार लैजाने

216

छिनछिन खबर
काठमाडौं, कात्तिक १६ । जापान सरकारले आप्रवासी श्रमिक आपूर्ति गर्ने विधेयक मन्त्रिपरिषद बैठकबाट अनुमोदन गरेको छ । उक्त विधेयक शुक्रबार मन्त्रिपरिषदले स्वीकृत गरेको हो । कामदारको कमी रहेका क्षेत्रका लागि सीपयुक्त कामदारको पूर्ति गर्न उक्त विधेयक पारित गरेको जापानका सन्चार माध्यमले जनाइएका छन् । विधेयकमा विदेशी श्रमिकलाई ५ वर्षको करार अनुमति भिसाको सुविधा दिइने छ ।


आगामी वर्षको अप्रिलदेखि विदेशी कामदार लैजाने प्रक्रिया सुरु हुनेछ । पछिल्लो समय श्रमिकको अभाव भएपछि जापानले आप्रवासी श्रमिक भित्र्याउन नीति अंगिकार गरेको हो । प्रधानमन्त्री शिन्जो आबेले सांसदहरूसँग छलफल गर्दै जापानले श्रमिकको कमी रहेका क्षेत्रमा मात्र यो व्यवस्था लागू हुने बताए । उनले जापानको कठोर आप्रवासी नीतिमा भने आमूल परिवर्तन नगरेको बताएका छन् ।

विधेयकमाथि विपक्षी दलसहित सत्तासिन दलका सांसदले समेत विरोध गरेका कारण गत महिना आउने भनिएको विधेयक रोकिएको थियो । जापानका उद्योगी तथा व्यवसायीहरूले विदेशि श्रमिकको अत्यावश्यक रहेको भन्दै प्रधानमन्त्रीको कदमको स्वागत गरेका छन् । विधेयक आएसँगै आप्रवासी कामदारमाथि हुनसक्ने शोषणलाई कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न जरुरी रहेको बताइएको छ ।
भाषामा दक्ष, उच्च शैक्षिक योग्यता र भाषा परिक्षा लिएरमात्रै कामदार आपूर्ति गरिने बताइएको छ । करार अवधि सकिएका विदेशी कामदार भिसा थप गरी बस्ने पाउने र श्रमिक प्रमाणपत्र पाएपछि परिवार पनि लैजान पाउने व्यवस्था गरिएको छ ।
जापानमा केयरगिभर, कृषि, निर्माण, पर्यटन र नर्सिङ क्षेत्रमा श्रमिकको माग उच्च छ ।

Womui
Womui