सवारी साधन दर्ता प्रादेशिक संरचना अुनसार

312

छिनछिन खबर
काठमाडौं, कात्तिक १३ । यातायात व्यवस्था विभागले सवारीसाधन दर्ता प्रादेशिक संरचनाअनुसार दर्ता गर्ने तयारी थालेको छ । प्रदेशअनुसार सवारी साधन दर्ता गर्न विभागले प्राविधिक काम सुरु गरिसकेको जनाएको छ । यातायात व्यवस्था विभागका निर्देशक गोकर्ण उपाध्यायले दैशेभर प्रदेशका आधारमा सवारीसाधन दर्ता सुरु गर्ने तयारी भइरहेको बताए । ’अञ्चलअनुसार दर्ता भएका सवारीसाधनहरुलाई प्रदेशमा दर्ता गर्न नयाँ प्रणाली बनाउनुपर्छ, यसका लागि हामी सफ्टवेयरको अपग्रेड गर्दैछौं,’ उनले भने । ’दुई साताजतिमा त्यो काम सकिने उनको भनाइ छ ।


असोज १६ गते बागमती अञ्चलस्थित साना तथा ठुला सवारी कार्यालयले मोटरसाइकल दर्तामा ९९ सय लट पुगेपछि १०० लटमा प्रवेश गर्न कानुनी अड्चन परेको भन्दै दर्ता रोकको थियो । यही अड्चनलाई फुकाउन मन्त्रिपरिषद बैठकले अञ्चलका आधारमा हुदै आएको सवारी साधन दर्ता प्रादेशिक संरचनाअनुसार गर्ने निर्णय गरेपछि विभागले सोहीअनुसार प्रदेश मातहतमा दर्ता गर्ने तयारी सुरु गरेको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा भएको नम्बर प्लेट सम्वन्धी पुरानो व्यवस्थालाई हेरफेर गरेर प्रदेशका आधारमा नम्बर प्लेट हुने व्यवस्था गरेको छ ।

यस्तो हुनेछ नयाँ नम्बर प्लेट
अहिलेको नम्बर प्लेटमा अंचलको संकेत, लट नम्बर र सवारी साधनको प्रकार र किसिमको संकेत उल्लेख गरी दुई लाइनको दर्ता नम्बर रहेको छ । अब प्रदेश अनुसार दर्ता हुने सवारीसाधनमा पहिलो लाइनमा प्रदेशको नाम र प्रदेश मातहतमा रहेका दर्ता कार्यालयको कोड नम्बरसमेत हुनेछ । दोस्रो लाइनमा सवारी साधनको लट नम्बर र सवारीसाधनको किसिम प्रकार हुनेछ भने तेस्रो लाइनमा दर्ता नम्बर उल्लेख गरिनेछ । अगाडिपट्टी दुई लाइन र पछाडिपट्टी तीन लाइनको नम्बर प्लेट हुनेछ । साथै सवारी साधन जनाउने (लट) अकं अहिले १ देखि ९९ सम्म मात्रै रहेको छ तर अब आवश्यकताअनुसार ००१ देखि ९९९ सम्म हुने व्यवस्था गरिएको छ ।

नामाकरण भएको प्रदेशको पुरा नाम लेखिनेछ भने हुन बाँकी प्रदेशमा प्रदेश नम्बर मात्रै लेखिनेछ । नामाकरण भएपछि सोहीअनुसार नम्बर प्लेटमा लेखिनेछ । अन्य सवारी साधनको गाडीको हकमा पनि यहि नियम लागु हुने विभागका निर्देशक उपाध्यायले जानकारी दिए । उनले यो व्यवस्था सबै प्रदेशमा लागु हुने जानकारी दिए । प्रदेश नम्बर ३ मा सवारी साधन दर्ता गर्ने एउटा मात्रै कार्यालय रहेको छ । विभागले एउटा कार्यायल रहेको कार्यालयलाई ०१ कोड दिएको छ ।
प्रदेश दुईमा लाहान,जनकपुर, वीरगंज गरी तीनवटा कार्यालय रहेका छन् । एक भन्दा बढी कार्यालय रहेका ठाउँमा ०१, ०२ र ०३ कार्यालय सङख्या अनुसार कोड हुँदै जानेछ ।

Womui
Womui