सिंहदरबारभित्रै करारका कर्मचारीको जुलुसः माग पूरा गर भन्दै मन्त्रालय घेराउ

230

छिनछिन खबर
काठमाडौं,कात्तिक ११ । सिंहदबार बाहिर हनुमानस्थान, माइतीघर मण्डलासम्म सरकारले सभा, जुलुस निकाल्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । तर सिंहदरबारभित्रनै मन्त्रालयको ढोकामा सेवाबाट हटाइएका करारका कर्मचारीहरुले जुलुससहित धर्ना कार्यक्रम गरेका छन् ।सरकारले कर्मचारी समायोजन अन्र्तगत हालै करार, अस्थायी तथा ज्यालादारीका रुपमा काम गर्ने कर्मचारीलाई हटाएको थियो । उनीहरुले पुर्नवाहालीको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका हुन् ।

आइतबार कार्यालय खुल्ने समयमा पुगेका उनीहरुले मन्त्रालय घेराउ गर भने सरकारले पनि सुरक्षाकर्मी परिचालन ग¥यो । कर्मचारी समायोजन अन्र्तगत विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्लाका विभिन्न कार्यालयमा काम गर्ने करारका कर्मचारी कटौती गरेपछि रोजगारीको माग राख्दै उनीहरुले मन्त्रालय घेराउ गर्दै आइरहेका छन् ।गएको साउन १ गतेदेखि करारका कर्मचारीलाई सेवाबाट हटाइएको थियो । उनीहरुलाई सेवाबाट हटाउँदा ३ महिनाको एकमुष्ट तलब दिने भनेपनि त्यो पनि नपाएको बताएका छन् । सरकारले हटाउने निर्णय गरेपछि करारका कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिदै पुन नियुक्तिको माग राख्दै आन्दोलन गर्दै आइरहेका छन् ।अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको तर्फबाट आन्दोलन गर्दै आएका उनीहरुले सरकारले गरेको निर्णयका कारण ३२ हजार कर्मचारी बेरोजगार बन्ने निश्चित भएको दावी गरेका छन् । उनीहरुले सरकारी कार्यालय, संघ–संस्था र अर्धसरकारी निकायहरुमा २ सय ४० दिन काम गरिसकेका अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुलाई एक पटकका लागि स्वत स्थायी गर्न माग गरेका छन् ।यस्तै मन्त्रीपरिषदले गरेको करारका कर्मचारी हटाँउने निर्णय खारेज गर्नुपर्ने, संघीय निजामती सेवाको गठनमा अस्थायी÷करार सेवा राख्नुपर्ने, समायोजनमा परेर हटाइएका विभिन्न कार्यालयका अस्थायी, करार कर्मचारीहरुलाई रोजीरोटीको ग्यारेन्टी गर्दै उचित व्यवस्थापन गर्न माग समेत गरेका छन् ।

करारका कर्मचारी हटाउने नीति ल्याएर निजामती कर्मचारी संयन्त्रले कम्युनिष्ट सरकारलाई नै असफल पार्न लागेको उनीहरुको दावी छ । आन्दोलनको नेतृत्व गरेको सो संघका आन्दोलन संयोजक तथा उपाध्यक्ष कुमार राउतले मन्त्रिपरिषद बैठकले करारका कर्मचारीको विषय समान्य प्रशासन मन्त्रालयले टुङ्ग्याउने भनेर गरेको निर्णय लागू नभएको बताउँदै गएको साउनदेखि तलब नपाएको बताए ।राउतले सरकारले आफूहरुलाई बेरोजगार बनाएको भन्दै आजदेखि तिहार छटसम्म निरन्तर मन्त्रालय घेराउ गर्दै सशक्त ढंगले आन्दोलनलाई अघि बढाउने उल्लेख गरे । उनले भने–‘यदि हाम्रा माग सुनुवाई नभए देशव्यापी रुपमा हामी आन्दोलन घोषणा गर्नेछौँ । त्यसपछि यदि मर्नुपर्छ भने पनि हामी मर्न तयार छौँ । हामीले लामो समय बीस पच्चिस बर्ष काम गरेर ३ महिनाको तलब लिएर जानु कतिको उचित हो यहाँहरुले मूल्याङ्कन गर्ने विषय हो ।’यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने करारका कर्मचारीको विषय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने बताएको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले मन्त्रिपरिषदलको बैठकले करारका कर्मचारीको बिषयमा उनीहरुलाई नियुक्त गरेका सम्बन्धित मन्त्रालयले व्यवस्थापन गर्ने, व्यवस्थापन गर्न नसकेमा ३ महिनाको एकमुष्ट रकम दिएर विदा गर्ने निर्णय गरेको बताए ।जुन मन्त्रालयले करारमा कर्मचारी नियुक्त गरेका थिए, उनीहरुले नै त्यसको व्यवस्थापन गर्नुपर्ने संघीय मामिला मन्त्रालयले बताइरहे पनि कर्मचारीहरुले सोही मन्त्रालय घेराउ गरिरहेका हुन् । आन्दोलनमा रहेका कर्मचारी संघका अनुसार उपत्यकामा मात्रै १० हजार करारका कर्मचारी रहेका छन् । सरकारले माग पूरा नगरे सशक्त ढंगले आन्दोलन गर्ने उनीहरको चेतावनी छ ।

Womui
Womui