आफैंले उत्पादन गरेको धानको मूल्य तोक्न पाउँदैनन्, किसान

229

छिनछिन खबर
दाङ, कात्तिक ११ । असारमा उत्साहका साथ रोपाई गरेका दाङका किसान बाली उठाउने बेलामा निराश छन् । आफुले दश नङ्ग्रा खियाएर उत्पादन गरेको धानको मूल्यबृद्धि नभएपछि किसान चिन्तामा परेका हुन् । बेच्ने बेलामा धानको मूल्य बिचौलियाले निर्धारण गर्ने भएकाले पनि किसान दोहोरो मारमा परेका हुन् ।


बिचौलियाको मूल्यमा बेच्नुपर्ने बाध्यता
धानको बोरा बोकेका ट्याक्टरको लाइन लागेको छ । मिलभित्र उस्तै भीड। धान बिक्री गर्न किसानले पालो कुर्नुपरेको छ । पालो कुरेर बसेका किसानले धानको उचित मूल्य पाएका छैनन् । पूरानै मूल्यमा धानको खरीद–बिक्री सुरु भएको छ । मोटो धान दुई हजार रुपैयाँ क्वीन्टल र मसिनो जातको धान २ हजार एक सय रुपैयाँ क्वीन्टलमा व्यापारीले खरीद गर्ने गरेका छन् । यो फुटकर मूल्य हो । किसान हेरेर मसिनो धानको मूल्य क्वीन्टलमा एक सय रुपैयाँसम्म व्यापारीले बढाउने गरेको पाइएको छ। तर, यो मूल्य थोरै धान बिक्री गर्ने किसानले पाउँदैनन्। गाउँमा धान खरीद गर्ने बिचौलियाहरु प्रवेश गरेका छन्। उनीहरुले खेतबाटै धान किनेर मिलमा पुर्याउने गरेका छन्। यसबाट किसान ठगिएका हुन् ।

खेती गर्न लिएको ऋणको चिन्ता
धानको यो मूल्य विगत पाँच वर्षदेखि बढेको छैन । किसानलाई धान उत्पादनमा चाहिने मल, बिउँ, मजदुरको ज्याला बढेपनि उनीहरुले उब्जाएको धानको मूल्य बढेको छैन । धान उत्पादनमा लागेको ऋण तिर्न खेतबाट सोझै किसानले व्यापारीकोमा धान पुर्याउने गरेका छन । खेतमा काम गर्ने मान्छे पाइनै छाडेको छ । मुश्किलले पाइएपनि ज्याला महङ्गो लैजान्छन् । मल, बिउँको मूल्य आकाशिएर छुनै नसक्ने भएको छ । ‘तर, खेत बाँझै राख्ने कुरो पनि भएन। जेनतेन धान उब्जायो । बिक्री गर्ने बेलामा पुरानै मूल्य,’ किसानहरु भन्छन् । लमही नगरपालिका–३ मजगाउँ निवासी देवराज चौधरीले उब्जाएको धान घरभित्र नराखी सोझै बजार पु¥याए । तर, अपेक्षा गरेजति मूल्य पाएनन् । ‘धान बिक्री गरेर खेती गर्दा लागेको ऋण तिरौँला भनेको मूल्य पूरानै रहेछ ।’बजार पु¥याएको धान नबेचेर घर फर्काउने कुरो पनि भएन । त्यही भएर देवराजले धान जति सबै मिलमा पु¥याए ।

‘दसैँअघि पनि बेचेको हुँ, अहिले पनि ल्याएको छु, अहिलेसम्म ७५ क्वीन्टल जति धान बिक्री गरेँ,’ उनले भने, ‘पूरानै मूल्यमा धान बिक्री गर्दा मन दुख्दोरहेछ, तर नबेचेर पनि के गर्नु !’ लमही नगरपालिका वडा नम्बर–६ बलरामपुर निवासी अनिता चौधरी धानको मूल्य सोध्न बजार आइन् । घर फर्कदा धान राख्ने बोरा समेत लगिन् । ‘खेती गर्दा लागेको ऋण तिर्न धान बिक्री नगरी नहुने भयो,’ चौधरीले भनिन्, ‘आफैँ सबै खेतमा धान लगाउन सकिँदैन, मजदुरी लगाएर धान रोप्यो, मल, बिउँ, मेहनत जोड्दा खर्च समेत उठ्दैन ।’ किसानको लागतको आधारमा धानको मूल्य तोकिनुपर्ने माग उठेको छ , धान बिक्री गर्दा किसान ठगिने हुँदा सरकारले यसतर्फ ध्यान दिँदा किसानलाई सहज हुने उनीहरु बताउँछिन् ।

Womui
Womui