भेरी अस्पतालको नयाँ इन्डोर भवन बनाउन अर्थको सहमति

133

नेपालगन्ज, कात्तिक ९-
नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको स्तरोन्नतीका लागि नयाँ इन्डोर भवन बनाइने भएको छ । सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईको पहलमा भवन बन्ने निश्चित भएको हो । इन्डोर ब्लक निर्माणका लागि अर्थ मन्त्रालयले हालै सहमति दिइसकेको छ । मन्त्री राईले संसदीय ५ सय शैयाको सुविधा सम्पन्न अस्पताल बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री राईको तदारुकतामा स्वास्थ्य मन्त्रालयले असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी भेरी अञ्चल अस्पतालको आवास तथा नयाँ इन्डोर भवन निर्माणका लागि सहमति माग गरेको थियो । सोही बमोजिम कार्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयबाट इन्डोर ब्लक निर्माण कार्य अघि बढाउन अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो ।

२८ परिवार क्षमताको आवास गृह बनाउने सन्दर्भमा भने अर्थ मन्त्रालयले तत्काललाई श्रोत अपर्याप्त रहेको भन्दै असहमति जनाएको छ । सहरी विकास मन्त्री राईको पहलमा यसअघि भेरी अञ्चल अस्पतालमा क्याथ ल्याब (मुटु रोग सम्बन्धी) निर्माण गर्न अर्थ मन्त्रालयले डेढ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । संघीय समाजवादी फोरम नेपालबाट सरकारमा सहभागि मन्त्री राईले आफ्नै पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरिरहेको स्वास्थ्य मन्त्रालयमार्फत भेरी अञ्चल अस्पतालको स्तरोन्नतीका लागि अग्रसरता देखाएका छन् ।

इन्डोर ब्लक निर्माणमा अर्थ मन्त्रालयले सहमति जनाएको सन्दर्भमा प्रतिक्रिया दिँदै सहरी विकास मन्त्री राईले भेरी अञ्चल अस्पतालको स्तरबृद्धिका लागि आफू निरन्तर प्रयत्नरत रहेको बताए । मन्त्री राईले भने, ‘भेरी अञ्चल अस्पतालको स्तरबृद्धि गर्दै ५ सय शययाको बनाउन पहल भईरहेको छ । चाँडै नै भेरी अञ्चल अस्पताललाई अत्याधुनिक सुविधायुक्त बनाउन मेरो पहल जारी रहने छ ।’ अस्पतालमा हाल १ सय ५० शयया रहेको छ ।

Womui
Womui