निर्मला हत्या प्रकरण, विष्टले गृह मन्त्रालयमा बुझाए स्पष्टीकरण

173

छिनछिन खबर
काठमाडौं,कात्तिक ७ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावशाली कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले आज स्पष्टीकरण बुझाएका छन्।

१३ वर्षीया बालिका पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै बर्खास्त गर्नुअघि आफ्नो कुरा राख्न पाउने प्राकृतिक न्यायको सिद्धान्तअनुसार एसपी विष्ट र घटनाको प्रमाण नष्ट गरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रहरी निरीक्षक जगदीश भट्टलाई स्पष्टीकरण सोधिएको थियो। दुवैले प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण आजै गृह मन्त्रालयमा पठाइएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले बताए।गृहले स्पष्टीकरण लिएर मन्त्रालयमा पेस गर्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो। प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक भट्टलाई सोमबार स्पष्टीकरणको पत्र थमाएको थियो। एसपी विष्टले आफू अन्य काममा व्यस्त भएको बताउँदै हिजो (मंगलबार) मात्रै पत्र बुझेका थिए। पत्र बुझेको २४ घन्टाभित्र लिखित जवाफ पठाउनुपर्ने भएकाले एसपी विष्टले आज जवाफ पेस गरेका हुन्।

पन्त हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए।गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो। आधा दर्जनभन्दा बढी प्रहरी टोलीले घटनाको छानबिन गरे पनि परिणाम शून्य भएको अवस्थामा सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र निरीक्षक भट्टलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाउन लागेको हो।

Womui
Womui