हवाई टिकटमा मन्त्री र सांसदको मनपरी, सर्वसाधारणको विचल्ली

153

नेपालगन्ज, असोज ३०-
दसै भित्रिदाँ पनि नेपालगन्ज विमानस्थलमा यात्रुको चाप अत्यधिक रुपले बढेको छ । यात्रुको चापको तुलनामा जहाजको उडान न्यून रहेको छ । जहाज कम्पनीले टिकट वितरण गर्दा पहुँचवालालाई मात्र प्राथमिकता दिने गरेको यात्रुको आरोप छ । कर्णाली प्रदेशको डोल्पा र हुम्लामा सडक यातायातको पहुँच छैन । कर्णालीका जुम्ला, मुगु तथा प्रदेश ७ को बाजुरामा सडक यातायात पुगेपनि त्यति भरपर्दो छैन । जसले गर्दा यि क्षेत्रका बासिन्दाले आवत–जावतका लागि हवाई यातायातको साहारा लिनुपर्ने बाध्यता छ । टिकट नपाउँदा पहाडी जिल्लाका यात्रु चाडपर्वको समयमा सधै मर्कामा पर्ने गर्छन् ।

नेपालगन्ज विमानस्थलमा भरिभराउ भएका यात्रु । फाईल तस्बिर

टिकट वितरणको काम ब्यवस्थित नहुँदा हरेक वर्षको दसै तिहारमा पहाडी जिल्लाका यात्रुले सास्ती खेप्नुपरेको छ । हवाई टिकटमा मन्त्री र सांसदको मनपरी चलेको छ, भने सर्वसाधारणको विचल्ली नै भएको छ । टिकटमा मन्त्री र सत्तारुढ दल निकट सांसदको रजाइँ नै चलेको सर्वसाधारणको गुनासो छ । ‘दसैको फुलपाती भित्रिसक्यो, अहिलेसम्म टिकट नपाएर घर फर्किने सुरसार नै छैन,’ मुगुका सुरेन्द्र शाहीले भने ‘टिकट जति सबै मन्त्री र सांसदको पावरमा बाँडिएको छ, सर्वसाधारण ब्यक्तिलाई चाही विचल्ली पार्ने काम भएको छ ।’ पढ्न, जागिर र ब्यापार ब्यवसायका लागि जिल्ला बाहिर ब्यस्त रहने प्रायः ब्यक्ति चाडपर्वका बेला रमाईलो र भेटघाटका लागि घर फर्किन्छन् । तर, समयमा टिकट नपाउँदा दुर्गम जिल्लाका सर्वसाधारण सधैं तनावमा हुन्छन् ।

नेपालगन्ज विमानस्थलमा अचेल टिकटका लागि दिनहुँ तनाव उत्पन्न हुने गरेको छ । नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जहाजको उडानभन्दा यात्रुको चाप धेरै भएको बताए । उनका अनुसार पहाडी जिल्ला डोल्पा, मुगु, हुम्ला, जुम्ला र बाजुराका लागि तारा र समिट एअरले दैनिक रुपमा एक/एक उडान भर्दै आएका छन् । ‘सिता एअरको जहाज अहिले विग्रेको छ, नेपाल एअरको जहाजले आइतबारबाट मात्रै सुरु गरेको छ,’ उनले भने ‘तारा र समिट एअरसँग एक÷एक वटा मात्रै जहाज चालु अवस्थामा छन्, यि दुई जहाजले दैनिक रुपमा उडान भर्छन् ।’

Womui
Womui