कहाँ छन् नेपालगन्जबाट अपहरित गौरव र आमिर ?

101

नेपालगन्ज, असोज ३०-
नेपालगन्जत्रिभुवन चोक निवासी गौरवकृष्ण रस्तोगी र आमिर अन्सारी अपहरणमा परेको बर्षौ बितिसक्दा पनि अहिलेसम्म उनीहरुको अवस्थाबारे प्रहरीले पत्ता लगाउन सकेको छैन । रस्तोगीलाई २०६६ असार ७ गते र आमिरलाई एक वर्षपछि असार महिनामै अज्ञात समुहले फिरौती असुलीका लागि अपहरण गरेको थियो । प्रहरीले अहिलेसम्म न दुबै जना अपहरितको अवस्था पत्ता लगाउन सक्यो, न त अपहरणमा संलग्न ब्यक्तिको पहिचान नै गर्न सक्यो । दुबै घटना अहिलेसम्म गुमनाम बनेका छन् । जिल्लामा सरुवा भएर आउने प्रहरी प्रमुखले गौरवकृष्ण आमिरको अपहरण काण्डबारे फाईल पल्टाउने प्रतिवद्धता मात्रै जनाउने गरेका छन् । अहिले सम्म उक्त घटना गुमनाम हुँदा अपहरित ब्यक्तिका परिवार र आफन्त चिन्तित मुद्रामा बस्दै आएका छन् ।

नेपालगन्जका ब्यापारी इस्लामुद्धिन अन्सारी र उनका छोरा आमिर (माथी) ।

बाँके प्रहरीले यही असोज दोस्रो साता मात्र नेपालगन्जको चर्चित हेमकार परिवारको हत्या काण्डका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेपछि अब गौरव र आमिरको अपहरणबारे पनि प्रहरीले अनुसन्धान अगाडी बढाउनुपर्ने नेपालगन्जबासीको अपेक्षा छ । भारतको रूपैडियाबाट नेपालगन्ज फर्किने क्रममा अन्दाजी २३ बर्षिय गौरवकृष्णलाई अपहरणकारीले सुर्खेत रोडबाट मोटरसाइकलसहित अपहरण गरेको थियो । उनी अपहरणमा परेपछि डरत्रासका कारण परिवारले सुरुमा प्रहरीलाई खबर गरेन् । गौरवका बुवा कृष्णमुरारीले अपहरणकारीलाई हेटौडा पुगेर फिरौती वापत ७ लाख रूपैयाँ बुझाएका थिए ।

फिरौती बुझाएपछि पनि छोरा नफर्किएपछि मात्र परिवारले प्रहरीलाई खबर गरेका थिए । अपहरणकारीले रस्तोगी परिवारबाट सुरुमा ४ करोड रूपैयाँ फिरौती मागेका थिए । बार्गेनिङ गरेर अन्तिममा ७ लाख रूपैयाँ दिने सहमतिपछि बुबा कृष्णमुरारी फिरौती रकम लिएर त्यतिबेला काठमाण्डौं पुगेका थिए । अपहरणकारीले त्यहाँबाट उनलाई हेटौंडा बोलाए । रातको करिव १ बजेतिर हेटौडामा पुगेर अपहरणकारीलाई फिरौती रकम बुझाएपनि छोरालाई मुक्त नगरेको गौरवका परिवार अहिलेपनि सम्झिन्छन् । रस्तोगी परिवारको त्रिभुवनचोकस्थित गौरव इन्टरप्राइजेज र सीमावर्ती रूपैडिया बजारमा रस्तोगी ब्रदर्स सञ्चालनमा थियो । गौरव अपहरणमा परेपछि उनको परिवारले नेपालगन्जमा ब्यवसाय गर्न छाडिसकेको बताइएको छ । नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्यूरो र तत्कालन मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले छुट्टा–छुट्टै टोली गठन गरेर अनुसन्धान गरेपनि अपहरित गौरवको अवस्था पत्ता लगाउन सकेन् ।
गौरव अपहरणमा परेको घटना सेलाउन नपाउँदै त्यसको एकवर्षपछि अपहरणमा परेका आमिरको परिवारले पनि अपहरणकारीलाई ९ लाख रूपैयाँ फिरौती बुझाए । तर, परिवारले अपहरित छोरालाई सकुशल पाउन सकेनन् । साविक नेपालगन्ज–१० निवासी २४ बर्षका आमिरको परिवारले फिरौती बुझाउँदा अपहरणकारीले दुई घण्टाभित्रै सकुशल जिम्मा लगाउने वचन दिएका थिए । भारतको बहराईचमा पुगेर आमिरका बुवा ईस्लामुद्धिनले फिरौती रकम बुझाएका थिए । मध्यम परिवारका इस्लामुद्धिनको मोबाईलमा फोन गरेर ‘तिम्रो छोरा हाम्रो कब्जामा छ, २० लाख ल्याएर आउ भनेर अपहरणकारीले धम्क्याएका थिए । आमिरले पनि फोनमा रुदै जति माग्छन् दिनुस् बुवा नत्र मलाई मार्छन् भनेर भनेका थिए । छोराको ज्यान लिने धम्की दिएका कारण इस्लामुद्धिनले प्रहरीलाई जानकारी दिएनन्, बरु उनी फिरौती रकम संकलन गर्नतिर जुटे ।

घर बेचेर पनि २० लाख नपुग्ने भनी अपहरणकारीसँग रोईकराई गरेपछि ९ लाख रूपैयाँमा सहमती भएको थियो । ईस्लामुद्धिनले त्यतिबेला छोरालाई मुक्त गर्न जग्गा बेचेर, ऋण काढेंर ९ लाख रूपैयाँ जम्मा गरी अपहरणको ९ दिनपछि फिरौती बुझाएका थिए । फिरौती बुझाएपछि पनि छोरा नपाएपछि अन्सारी परिवार चिन्तामा डुब्दै आएको छ । छोरालाई जिउँदो अवस्थामा पाउने आशा उनीहरुमा मरिसकेको छ, तर अपहरणमा संलग्न अपराधीलाई कानुनी कारबाही भएको अझैपनि देख्न चाहन्छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालिन प्रमुख(एसपी) विक्रमसिंह थापाले आमिर अन्सारीको अपहरणमा संलग्न भएको अभियोगमा बाँके भवानीयापुर-८ का प्रमोद गिरी र ईन्द्रपुर–३ निवासी सुस्मी बर्मालाई पक्राउ गरेर मुद्दा चलाएका थिए, भने अन्य आरोपीहरु कम्दी–८ बाँकेका बकरिदी शेख, ईन्द्रपुर–३ का निजामुद्दिन साई, सोही ठाउँका रिजवान साई, कम्दी–१ का झल्लु धोबी, भारतीय नागरिक इरसाद खान, मोइन कुरेसी, सिराजुल रहमान फरार थिए ।

बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक(एसपी) अरुण पौडेलले जिल्लामा भएका पुराना घटनाको पुनः अनुसन्धान थालिने बताएका छन् । १३ वर्षअघि भएको हेमकार परिवार हत्या काण्डका अभियुक्त ढिलै भएपनि कानुनी दायरामा आएको जनाउँदै एसपी पौडेलले गौरवकृष्ण रस्तोगी र आमिर अन्सारीको अपहरण लगायत जिल्लामा भएका बर्षौ पुराना आपराधिक घटनाको फाईल पल्टाएर पुनः अनुसन्धान सुरु गर्ने प्रतिवद्धता जनाए ।

Womui
Womui