लोकसेवा नखोल्न सरकारको आग्रह

40

काठमाडौं, असोज २८

लोकसेवा आयोगलाई दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न सरकारले आग्रह गरेको छ । आउँदो मंसिरसम्म कर्मचारी आवश्यकता सम्बन्धी विज्ञापन नखोल्न आग्रह गरेको आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेपालको हालको शैक्षिक जनशक्तिको अवस्थाको अध्ययन गरी आगामी दिनमा कस्ता जनशक्ति आवश्यक पर्छन् भन्ने विषयमा विस्तृत अध्ययन गरी सुझाव दिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा निर्देशक समिति गठन सरकारले गरेको छ ।

समितिले नेपालको इन्जिनियरिङ, चिकित्सा, वाणिज्यलगायत कुन क्षेत्रमा कति शैक्षिक जनशक्ति रहेको छ र देशलाई कस्ता जनशक्ति आवश्यक पर्छ भन्ने विषयमा विस्तृत सुझाव दिने मन्त्री ज्ञवालीले बताए । यस समितिले ६ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । सरकारले मेडिकल शिक्षामा यस वर्ष शुल्क वृद्धि गर्न नपाइने निर्णय पनि गरेको छ । विगतमा मेडिकल शिक्षाको शुल्क निर्धारण गर्न गठित कार्यदलले तोकेको शुल्क भन्दा बढी लिन नपाइने निर्णय गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । सरकारले जमलमा विगतमा जनप्रशासन क्याम्पस रहेको ठाउँमा राष्ट्रिय पुस्तकालय राख्ने निर्णय पनि गरेको छ । त्यस्तै जनकपुर जयनगर रेल वेमा नेपाली झण्डासहितको रेल चलाउन आवश्यक कानुन लगायतका अन्य संरचना निर्माणको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

Womui
Womui