यी हुन् विदेशबाट निःशुल्क ल्याउन पाइने सामान

158

छिनछिन खबर
काठमाडौं, असोज २१ । चाड पर्वको बेला वैदेशिक रोजगारीबाट फर्क्रदै हुनुहुन्छ ? यदि त्यस्तो हो विदेशबाट के सामान ल्याउन पाइन्छ थाहा पाउन आवश्यक हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घर फर्कदा सरकारले वस्तु तथा संख्या हेरिकन भन्सार छुटसमेत दिँदै आएको छ । कतिपयमा भने अनिवार्य भन्सार तिर्नुुपर्छ । तर, विदेशबाट फर्किंदा कतिपय सामान भने ल्याउन नपाइने कानुनी प्रावधान छ ।

कुन सामान कति ल्याउन पाइन्छ ?

विदशेबाट फर्किने धेरैले टिभी, मोबाइल फोन, सुनचाँदीका गहना लगायतका सामाग्री लिएर आउने गरेको दृश्य विमानस्थलमा देख्न सकिन्छ । तर, नेपाल ल्याउन पाइने सामान र भन्सार दरबारे विदेशबाट फर्किनेहरुले जान्नैपर्छ, नत्र ल्याइएका सामान जफत हुनसक्छ भने महंगो भन्सार पनि तिर्नुपर्ने अवस्था पनि सिर्जना हुनसक्छ । वैदेशिक रोजगारीमा रहेका र विदेशमा अस्थाइ बसोबास गर्दै आएका नेपालीहरुले दसैंमा स्वदेश फर्किंदा आफन्त तथा साथीभाइका लागि भन्दै महँगो ब्रान्डको विदेशी रक्सी ल्याउने प्रचलन छ । तर, धेरै परिमाणमा रक्सी ल्याउन मिल्दैन १ लिटरसम्म रक्सी मात्र ल्याउन पाइन्छ। त्यो भन्दा बढी भन्सार रकम तिरे पनि ल्याउन मिल्दैन ।
ल्यापटप, कम्प्युटर वा ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर र पेनड्राइभ १÷१ थान ल्याउनेका हकमा सरकारले भन्सार छुट दिएको छ । बच्चा राख्ने ‘पेराम्बलेटर’ र ‘ट्राइसाइकल’ १र१ वटा ल्याउँदा पनि भन्सार लाग्दैन ।

वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बसेर फर्किंदा ३२ इन्चसम्मको टिभी ल्याउन पाउने व्यवस्था छ । तर, रोजगारीका लागि नगएका व्यक्ति र एक वर्ष पुरा नभई फर्किएकाले भने यो सुविधा पाउने छैनन् । विदेशमा काम गरेर फर्किएकाहरुलाई दुई थानसम्म नयाँ मोबाइल ल्याउँदा भन्सार लाग्दैन । विभिन्न पेसा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था सरकारले गरेको छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, ‘स्टेथेस्कोप’, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु, संगीतकर्मीहरुले बाद्यबाधनका सामाग्रीहरु लगायतका सामान १र१ थान ल्याउन भन्सार तिर्नुपर्दैन ।

यस्तै, निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौनालगायत घरायसी उपयोग तथा व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन पनि भन्सारमा छुट दिइएको छ । तर, ठूलो परिमाणमा भने बोकेर ल्याउन मिल्दैन । औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको साहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुट दिइएको छ ।
कुनै समानमा भने ४० प्रतिशतसम्म समदरमा भन्सार तिर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। म्युजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो, क्यासेट प्लेयर १÷१ थान ल्याउन सकिन्छ। तर, यस्ता समानमा समदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ। ३२ इन्चभन्दा माथिको टेलिभिजन ल्याएको खण्डमा भने इन्चअनुसार भन्सार महशुल निर्धारण गरिएको छ। एउटाभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन नपाइने व्यवस्था छ ।

यस्तै, ७ किलोग्रामसम्म खाद्यवस्तुमा पनि भन्सार छुट दिइएको छ । अर्थ मन्त्रालयका अनुसार यसबाहेक बढीमा १० किलोग्रामसम्म खाद्य सामग्री ल्याउन पाइन्छ। तर, यसमा सरकारले तोकिएको भन्सार शुल्क लिने गरेको छ । १५ थान लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान पनि तोकिएको ४० प्रतिशत भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिने अर्थ मन्त्रायलको सूचनामा उल्लेख गरिएको छ । मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २–२ थानसम्म ल्याएमा भन्सार लाग्छ। व्यवसायिक पेसामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २–२ थानसम्म ४० प्रतिशत भन्सार तिरी ल्याउन पाउने व्यवस्था छ । चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म ल्याउँदा पनि समदरमा ४० प्रतिशत भन्सार तिर्नुपर्छ। पछिल्लो समय चुरोट ल्याउन पाइने व्यवस्था खारेज गर्ने सरकारले बताउँदै आएको छ ।

त्यस्तै ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५ सय २० रुपैयाँका हिसाबले कर तिर्नुपर्ने हुन्छ। यसअनुसार १० ग्रामको ५ हजार २ सय र ५० ग्रामको २६ हजार भन्सार लाग्छ । ५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६ सय २० रुपैयाँ कर लाग्नेछ। यसअनुसार ५० ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६ हजार २ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्ने भन्सार विभागले जानकारी दिए । ‘कुल सय ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ,’ ती अधिकारीले भने,’ सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत गरिनेछ ।’अहिले नयाँ व्यवस्थाअनुसारको झिटीगुन्टा आदेश छैन। यसकारण यात्रुले गहनाका रुपमा लिएर र लगाएर आउने सुनका हकमा के हुने भन्ने अन्योल छ ।  भन्सार विभागका अधिकारी भने आर्थिक विधेकयले सुन मात्रै भनेकाले अब गहना पनि भन्सार नतिरी ल्याउन नपाइने तर्क गरिरहेका छन् ।

Womui
Womui