बाँकेको खजुरामा कृषि क्याम्पस सञ्चालन हुने

50

बाँके, असोज १८ (रासस) । बाँकेको खजुरा गाउँपालिकाको सन्तकुटीमा कृषि क्याम्पस सञ्चालन हुने भएको छ । जनता नमूना माविको नौ बिघा जग्गामा कृषि क्याम्पस स्थापना गरिने भएको हो । प्रस्तावित खजुरा कृषि क्याम्पसले रामपुरस्थित कृषि विश्वविद्यालयबाट आङ्गिक क्याम्पसको सम्बन्धन प्राप्त गरिसकेको प्रदेशसभा सदस्य आइपी खरेलले जानकारी दिए ।


क्याम्पसका लागि बजेट पनि छुट्याइएकाले भौतिक पूर्वाधार निर्माण र पठनपाठन छिट्टै सुरु हुने उनले जानकारी दिए । प्रदेशसभा सदस्य खरेलको अध्यक्षतामा कृषि क्याम्पस सहयोग तथा सञ्चालन समितिसमेत गठन गरिएको छ । बिएस्सी एग्रिकल्चरको पढाइ तत्काल सुरु हुने र क्रमशः वनविज्ञानको समेत अध्ययनअध्यापन हुने बताइएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र कृषि तालीम केन्द्र तथा कपास विकास समितिको केन्द्रीय कार्यालय रहेको खजुरामा लामो समयदेखि कृषि क्याम्पस स्थापनाका लागि पहल भइरहेको थियो ।

Womui
Womui