नेपालगन्जमा सडक अतिक्रमण हटाउन थालियो

90
  • कार्यबाहक नगर प्रमुख उमा थापामगरको सक्रियता

नेपालगन्ज, असार १२-
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा बढेको सडक अतिक्रमण हटाउन सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका, प्रहरी र ट्राफिक प्रहरीले शुक्रबारबाट संयुक्त रुपमा अभियान थालेका छन् । पैदलयात्रुको आवागमनमा अवरोध हुने गरि सडक पेटी तथा फुटपाथ कब्जाको प्रयास भएपछि उपमहानगरपालिकाले फुटपाथ हटाउने अभियान सुरु गरेको हो ।

ढल तथा नालामाथीको फुटपाथमा ठेला राख्ने, पसलेले सामान, बोर्ड, मोटरसाईकल राख्ने गर्नाले आवागमनमा कठिनाई हुनुका साथै कुरुपता बढ्दै गएपछि हटाउन सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । नेपाल प्रहरी र उपमहानगरपालिकाका नगर प्रहरीसहितको टोलीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल अगाडीबाट फुटपाथ खाली गराउन सुरु गरेको थियो । बेलुकासम्म धम्बोझी सम्म दुबैतर्फ खाली गराइएको छ । सहज हिडडुल गर्न नसक्ने गरि सडक पेटीमा राखिएका ठेला, सर सामान, साईकल, हेल्मेटहरु नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएको दुई ट्रक सामान उपमहानगरपालिकाले नियन्त्रणमा राखेको छ । यसअघि तेस्रो नगर सभाले माईकिङ गरेर सचेत गराउने, खाली नगरिए जफत गरिएको सामान फिर्ता नगर्ने निर्णय गरिसकेको छ । सचेत गराउँदा गराउँदै सडक पेटीमा सामान राखेको पाइएमा थप कारबाही गरिने निरीक्षण शाखाका प्रमुख पवनकुमार कनोजियाले जानकारी दिए ।  सडक अतिक्रमण हटाउँदा केही ठेला व्यापारीले उपमहानगरपालिकाविरुद्ध नारावाजी गर्दै केहीबेर मुलगेट घेराउ गरेका थिए ।

कार्यबाहक नगर प्रमुख(उपमेयर) उमा थापामगरले छलफलका लागि ठेला व्यवसायी व्यवस्थापन समितिका पदाधिकारीलाई आइतबार उपमहानगरपालिका बोलाइएको बताईन् । नगरका थप सडक पेटी समेत व्यवस्थित गरिने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) अरुण पौडेल, वडाअध्यक्ष सुनिलसिंह हमाल, मोहम्मद सफिक बेहना लगायत पुगेका थिए ।

Womui
Womui