प्रदेश ७ को नाम सुदूरपश्चिम, राजधानी गोदावरी

174

छिनछिन खबर
धनगढी, असोज १२ । धनगढी– प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने प्रस्ताव प्रदेशसभाको दुईतिहाईले पारित गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाको बहिष्कारका बाबजुद बसेको प्रदेश सभा बैठकको दुई तिहाई बहुमतले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी रहने निर्णय गरेको हो ।प्रदेशको नाम र राजधानी निर्धारण गर्न नेकपाका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा प्रदेशसभाले गठन गरेको विशेष सुझाव समितिले ‘नाम सुदूरपश्चिम र राजधानी गोदावरी’ राख्ने सुझाव दिएको थियो ।

सोही सुझावअनुसार नाम र राजधानी तोक्न खोज्दा सहमति नभएपछि प्रदेश सभामा आज मतदानका लागि बैठक बोलाइएको थियो। ११ बजे बसेको पहिलो बैठक कांग्रेस र राजपाको अवरोधपछि १ बजेसम्मका लागि स्थगित भयो। १ बजे बसेको बैठक कांग्रेस र राजपाले बहिष्कार गरेपनि स्थगित भएन ।

कांग्रेस र राजपाविनैको प्रदेशसभा बैठकले मतदानमार्फत दुई तिहाईले राजधानी गोदावरी नगरपालिकाको ४ र २ मा रहने तथा नाम सुदूरपश्चिम राख्ने निर्णय गरेको हो ।

‘नाम सुदूरपश्चिम राजधानी गोदावरी’ राख्ने प्रस्तावको पक्षमा ३८ मत परेको छ भने विपक्षमा शून्य मत परेको छ। ५३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ३९ जना, नेकाका १२ र राजपाका २ जना सांसद छन् ।

Womui
Womui