सन् २०२० देखि कोरियन भाषा परीक्षा अनलाइनबाट

254

प्रशिद्धिका खड्का
काठमाडौं, असोज ८ । सन् २०२० देखि कोरियामा रोजगारका लागि भाषा परीक्षा अनलाइनबाटै दिन पाइने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रोजगार अनुमती प्रणाली (इपीएस) को परीक्षा अनलाइन सिस्टममार्फत गराउने तयारीमा रहेको इपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताए ।


हाल कोरियन भाषा परीषाा कागजमा लिने चलन छ । ‘अनलाईन भनेर घरमै बसेर दिन मिल्ने भने हैन,’ हामीले परीक्षा सेन्टर तोकिदिएका हुन्छौं, त्यहाँ छुट्टा छुट्टै कम्प्यूटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ,’ भण्डारीले भने । उनले हाल फारम भर्ने तरिकालाई अनलाइन सिस्टममा परिणत गरिएकोले अब २०२० देखि अनलाइनबाटै इपीएस परीक्षा दिने व्यवस्था लागु हुने बताए । यस्तै, यही विहिबार असोज ४ गते नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत श्रमिक लैजाने सम्झौता थप २ वर्षका लागि नवीकरण भएको छ ।

पछिल्लोपटक २०१७ असोज ४ गते यो सम्झौता भएको थियो । नेपाल र कोरियाबीच श्रम सम्झौता प्रत्येक २÷२ वर्षमा हुने गरेको छ । दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाएको सम्झौता नवीकरण गर्ने सम्बन्धी समझदारी पत्रमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले हस्ताक्षर गरेका हुन् । नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारी अनुसार २००८ देखि इपीएस प्रणालीमार्फत रोजगारीका लागि नेपाली श्रमिक दक्षिण कोरिया जान थालेका हुन् ।यस प्रणालीबाट अहिलेसम्म ५४ हजार ३ सय ६३ नेपाली श्रमिक दक्षिण कोरिया गएका छन् । जसमध्ये ५१ हजार २५ जना पुरुष र ३ हजार ३ सय ३८ जना महिला रहेका छन् । हाल दक्षिण कोरियामा ३५ हजार नेपाली श्रमिक कार्यरत रहेको इपीएस शाखाले जानकारी दिएको छ । इपीएस मार्फत कोरिया जानेको संख्या प्रत्येक दिन बढ्ने क्रममा रहेको छ । कोरियामा आकर्षक तलब सुविधाका कारण नेपाली श्रमिकको रोजाइको पहिलो गन्तव्य कोरिया बन्दै आएको छ ।

कोरियामा नेपाली श्रमिकको तलब न्यूनतम मासिक १ लाख ५० हजार रुपैयाँ तोकिएको छ । कतिपयले त ३÷४ लाख रुपैयाँ समेत कमाउने गरेको बताइन्छ । दक्षिण कोरियाले इपीएस प्रणाली मार्फत नेपाल सहित १४ राष्ट्रबाट प्रत्येक वर्ष ५० हजारको हाराहारीमा श्रमिक लैजाने गर्छ । यो वर्ष नेपालबाट करिब ७ हजार भाषा परीषा पास गरेको यु्वा कोरिया जाँदैछन् ।

Womui
Womui