कृषिमन्त्री चक्रपाणी खनाल भन्छन–‘जमिनमा भएको खण्डिकरण कृषि उत्पादनको बाधक’

120

छिनछिन खबर
काठमाडौं,असोज २ । कृषिमन्त्री चक्रपाणी खनालले नेपालको भूमि अब राष्ट्रियकरण गर्न सम्भव नभएको बताएका छन् । नेपालमा कृषि उत्पादन बढ्न नसक्नुमा जमिनको अवस्था वाधक रहेको बताउँदै उनले त्यसलाई सुधार गर्न कठिन रहेको उल्लेख गरे ।मंगलबार काठमाडौंमा कञ्जुमर आई नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले जमिनमा भएको खण्डिकरण कृषि उत्पादनको बाधक रहेको बताएका हुन् ।

धेरै देशमा जमिन सरकारको रहने भन्दै मन्त्री खनालले व्यक्तिले उपभोग गरेको जमिन सरकारले नियन्त्रणमा लिएर त्यसको व्यवस्थापन गर्न पनि कठिन उल्लेख गरे ।मन्त्री खनालले खेतीयोग्य जमिन र शहर आसपासका जमिन घडेरीका लागि टुक्र्याइएको र यूवा जनशक्ति बैदेशिक रोजगारीका लागि जाँदा खेत बाँझो रहँदा कृषि उत्पादन घटेको दावी गरे । मन्त्री खनाललले भने– ‘श्रम गर्न सक्ने १८ देखि ४० बर्ष उमेर समूहका यूवा बाहिरिएका छन्, कृषिप्रति मानिसहरुको चासो हराएको छ । हिँउद बर्खा जोतिनुपर्ने अवस्था छ, जसले कृषितिर मन लगायो त्यो गयो भनेर बुझ्नुपर्ने अवस्था छ ।’उनले भारतबाट आएको बन्दागोभी किन्न लाइन बस्नुपर्ने अवस्था आएको भन्दै जमिनमा भएको खण्डिकरणका कारण कृषि उत्पादन बढ्न नसकेको बताए । कृषि मन्त्रालयमा भूमिसुधार मन्त्रालय पनि जोडिएको बेला आफूले ४ महिना भूमि व्यवस्थापनको लागि पहल गरेको बताउँदै नेपालको कृषिको समस्या जमिनसँग जोडिएको बताएका छन् ।

साना टुक्रे खेतीप्रणाली हुँदा त्यहाँ अत्याधुनिक कृषि औजार प्रयोगमा समस्या रहेको समेत उनले औंल्याए । आधुनिक र व्यवस्थित ढंगले खेती गर्न जमिनको चक्लाबन्दी गर्न पनि कठिन रहेकाले अब सहकारी प्रणालीमार्फत खेती गरी उत्पादन बढाउनुपर्ने उनले बताए ।मन्त्री खनालले बेमौसमी तरकारी खेतीमा अत्यधिक बिषाधि प्रयोग हुने गरेको बताउँदै त्यसलाई नियन्त्रण गरेर जानुपर्ने बताए । उनले नेपालमा उपभोक्ताका लागि ऐन कानुन भएपनि प्रभावकारी कार्यान्वयन भएर जान नसकेको उल्लेख गर्दै सबैभन्दा बढी काठमाडौं बाहिरबाट र भारतबाट आउने कृषि उपजमा बिषाधियुक्त हुने उल्लेख गरे ।उनले बाहिरबाट आउने तरकारी तथा माछामा बिषाधि हुने भन्दै त्यसमा सजग रहनुपर्ने उल्लेख गरे । उनले दुधमा आफूले पूर्णरुपमा नियन्त्रण गरेको बताउँदै त्यसमा कुनै सम्झौता नगर्ने बताए ।उनले भने– ‘३ महिनादेखि दुधमा कुनै मिसावट भएको छैन । अब दुधमा मिसावट भएमा कुनै सम्झौता हुँदैन भनेपछि दुध सुधारिएर आएको छ, बाहिरबाट आउने दुधका उत्पादनहरु रोकिदिएको छु । व्यापार व्यवसाय चौपट भयो भन्दै मन्त्रालयमा धाउनेहरु पनि छन् । एक बर्षलाई पाउडर दुध स्टक गरेर राख्ने, गुणस्तरहिन दुध बेच्नेको व्यापार चौपट भएर केही हुँदैन ।’

कार्यक्रममा कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले औद्योगिक ढंगले कृषिलाई अघि बढाउने हो भने वातावरण र मानव स्वास्थ्यलाई अनुकूल हुने गरी विषाधि प्रयोग गर्नुपर्ने बताए ।नेपालको तरकारीमा विषाधि छ र जमिन रासायनिक मलले बिग्रियो भन्ने भनाई सत्य नरहेको भन्दै उनले नेपालीले पर्याप्त मात्रामा रासायनिक मल प्रयोग गर्न नपाएको उल्लेख गरे ।धादिङ, काभ्रे, चितवन, सर्लाही बाहेका ठाँउमा तरकारीमा बिषाधि हाल्ने चलन नरहेको भन्दै नेपालको ९० प्रतिशत भू–भागको तरकारी आर्गा्निक हुने उनले बताए । ५ दर्जन जिल्लामा बिषाधी नपुगेको तर्क गर्दै विषाधी प्रयोग गर्ने जिल्लामा यसको नियन्त्रण गर्न कठिन नरहेको बताए ।कार्यक्रममा कञ्जुमर आइ नेपालकी अध्यक्ष विमला खनालले संविधानको धारा ४४ ले उपभोक्ताको मौलिक अधिकार दिएको, उपभोक्ता अधिकार ऐनले ८ वटा अधिकार दिएपनि उपभोक्ताले आफ्नो अधिकार प्रयोग नसकेको बताइन् ।अध्यक्ष खनालले कञ्जुमर आईले उपभोक्ताको अधिकार प्राप्तिका लागि नीति निर्माणमा सहयोग गर्नुका साथै विभिन्न सरकारी निकायसँग मिलेर संयुक्त रुपमा बजार अनुगमन गरी उपभोक्ताको हितमा काम गर्दै आइरहेको बताइन् ।उनले कृषिप्रधान देशमा कृषि उपजमा उपभोक्ताले समस्या खेपिरहनुपरेको भन्दै सरकारी निकायलाई झक्झकाइरहेको उल्लेख गरिन् ।

Womui
Womui