अमेरिकाको चीनसँगको व्यापार युद्ध चर्कियोः चीनियाँ उत्पादनमा दुई सय अर्ब डलरको नयाँ ट्यारिफ

36

एजेन्सी
असोज २ । चीनसँगको व्यापार युद्धलाई एक कदम अघि बढाउँदै अमेरिकाले चीनियाँ उत्पादनमा पुनः दुई सय अर्ब डलरको नयाँ ट्यारिफ लगाएको छ ।यो आयात शुल्क पाँच हजारबढी वस्तुमा लागु हुनेछ । अमेरिकाले यसअघि पनि चीनियाँ सामानमा आयात शुल्क लगाइसकेको छ तर एकैपटक अत्यधिक शुल्क लगाइएको यो पहिलो घटना हो ।

यसमा ह्यान्डब्याग, चामल र कपडा समावेश गरिएका छन् तर केही वस्तु जस्तै घडी, प्ले पेनलगायतलाई यसमा समावेश गरिएको छैन । यद्यपी, यी वस्तुमा पनि चाँडै नै शुल्क लगाइने सम्भावना छ ।सुरुमा अमेरिकाले काठबाट बनेको फर्निचरमा आयात शुल्क लगाएको थिएन तर यसपटक भने यसमा पनि शुल्क लगाइएको छ । यसले चीनका साथै अमेरिकाको फर्निचर बजारमा असर पुर्याउने बताइएको छ ।यता चीनले अमेरिकाले यदि आयात शुल्क लगाए आफूहरुले जवाफी कारवाही गर्ने चेतावनी दिइसकेको छ ।यसअघि चीनका विदेश मन्त्रालयका प्रवक्ता गेन्ग शुआंगे यदि अमेरिकाले नयाँ आयात शुल्क लगाए चीन पनि आफ्नो हितको रक्षा गर्नका लागि बाध्य हुने बताएका थिए ।उनले भनेका थिए, ‘यो व्यापार युद्धले कसैलाई पनि फाइदा हुनेछैन । हामीले सधैं व्यापारका मुद्धालाई कुराकानीमार्फत सुल्झाउनु ठिक भएको बताउँदै आएका छौं त्यो पनि एक–अर्कामाथि विश्वास गरेर मान–सम्मानका साथ ।’

चीनलाई दिइयो मौकाः अमेरिका

नयाँ आयात शुल्क सेप्टेम्बर २४ तारिखदेखि लागु हुनेछ जसलाई सुरुवातमा १० प्रतिशत शुल्क लगाइने भने अर्को वर्षको सुरुवातमा त्यो बढेर २५ प्रतिशत हुनेछ ।राष्ट्रपति डोनल्ड ट्रम्पले यो नयाँ ट्यारिफ चीनको व्यापार गर्ने अनुचित तरिकाको जवाफमा भएको बताएका छन् ।ट्रम्पका अनुसार अमेरिका परिवतर्न गर्नका लागि स्पष्ट छ र चीनलाई अमेरिकासँग उचित तरिकाले व्यापार गर्ने हरेक मौका दिएको छ ।उनी भन्छन् ‘तर अहिलेसम्म चीनले आफ्नो व्यापार नीति परिवर्तन गर्न इच्छा देखाएको छैन ।’दुबै देशले पहिले नै एक–अर्कामाथि पाँच सय अर्ब डलरको सामानमाथि शुल्क लगाइसकेको छ । यसले अन्तर्रा्ष्ट्रिय बजारमा समेत असर पुर्याउने छ ।ट्रम्पले यदि चीनले यसको जवाफमा कुनै कदम उठाए आफूहरु अर्को चरणको आयात शुल्क लगाउने दिशामा अघि बढ्ने र दुई सय ६७ अर्ब डलरको चीनियाँ उत्पादनमा शुल्क लगाउने चेतावनी दिएका छन् ।दुई सय ६७ अर्ब डलरको चीनियाँ उत्पादमाथि शुल्कको अर्थ चीनबाट आयात गरिने लगभग सबै उत्पादन यो दायरामा आउनेछन् ।

Womui
Womui