‘चाचाजी’ को ९० औं जन्मदिन यसरी मनाईयो-(फोटो फिचर)

195

नेपालगन्ज, भदौं २७-
प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता ‘चाचाजी’ को ९० औं जन्मदिन बुधबार मनाईएको छ । नेपाल प्रेस युनियन बाँकेको संयोजनमा एक कार्यक्रम गरेर जन्मदिन मनाइएको हो । जिल्लाका सञ्चारकर्मी, परिवारका सदस्य, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधी, जनप्रतिनिधी लगायतको उपस्थितीमा गुप्ताले केक काटेका थिए ।

सो क्रममा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईराला, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, युनियनका अध्यक्ष जयनारायण शाह, पुर्वमेयर एवम् चाचाजीका पुत्र विजय गुप्ता, राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य रामकुमार दिक्षित, पत्रकार महासंघ प्रदेश पाँचका सचिव शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु लगायतले जन्मदिनको शुभकामना दिएका थिए । जन्मोत्सव कार्यक्रममा बोल्ने अधिकांस वक्ताले मुलुकमा लोकतन्त्र ल्याउन र प्रेस स्वतन्त्रताका लागि पत्रकारिताको माध्यमबाट प्रेस स्वतन्त्रता सेनानी गुप्ताको योगदान महत्वपुर्ण रहेको जोड दिए ।

कांग्रेस सभापति कोईरालाले प्रेस स्वतन्त्रता सेनानी गुप्ताको योगदान पत्रकारिता क्षेत्रमा मात्र सिमित नभएको बताईन् । उपमेयर थापाले चाचाजी नेपाली पत्रकारिता क्षेत्रकै अभिभावक भएको बताउँदै भनिन्, ‘चाचाजी हाम्रो अभिभावक हुनुहुन्छ, उहाँले पत्रकारिता पेशालाई समाजसेवाको अंग बनाउनु भयो ।’ पत्रकारिताको आउने पिढीलाई पनि चाचाजीले उर्जा प्रदान गरेको उनको भनाई छ । पत्रकार महासंघका प्रदेश सचिव चौलागाई र शाखा अध्यक्ष थारुले चाचाजी नेपाली पत्रकारिता क्षेत्रकै प्रेरणादायी ब्यक्तित्व भएको बताए ।
सो क्रममा आफ्नो भनाई राख्दै गुप्ताले पत्रकारिताबाट आफु अलग हुन नसकेको बताए । शरिरले साथ दिदाँसम्म पत्रकारितामै रहने उनले सुनाए । गुप्ताले झण्डै ४ दशकअघि देखी नेपालगन्जबाट साप्ताहिक किरण प्रकाशन र सम्पादन गर्दै आएका छन् ।

युनियन बाँकेका संस्थापक अध्यक्ष गुप्ताको यसअघि ८८ औं र ८९ औं जन्मदिन पनि युनियनकै संयोजनमा मनाइएको थियो । उनको सम्मान स्वरुप नेपाल प्रेस युनियन बाँकेले ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता कोष’ स्थापना गरिसकेको छ । उक्त पुरस्कार युनियनको आसन्न जिल्ला अधिवेशनमा वितरण गर्ने तयारी भईरहेको युनियन बाँकेका अध्यक्ष शाहले जानकारी दिएका थिए । ‘आगामी दिनमा पुरस्कार कोष कम्तिमा ५ लाखको बनाईनेछ, भने युनियनको आसन्न अधिवेशनदेखि नै २५ हजार रूपैयाँ राशीको पुरस्कार वितरण गरिनेछ,’ शाहले भने ।


उक्त अवसरमा चाचाजीका पुत्र एवम् पूर्वमेयर गुप्ताले पिताको योगदानलाई जीवन्त राख्न ‘पन्नालाल गुप्ता प्रतिष्ठान’ बनाउने र नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको पुरस्कार कोषमा परिवारको तर्फबाट २ लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।

तस्बिर : सामाजिक सञ्जालबाट

Womui
Womui