बाँकेको सम्शेरगन्जमा सर्पदंश उपचार केन्द्र स्थापना

321

बाँके(सम्शेरगन्ज), भदौं १९-
बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सर्पले टोकेका बिरामीले अबदेखी कसैलेपनि अकालमा ज्यान गुमाउन नपर्ने भएको छ । राप्तीसोनारी गाउँपालिका, नेपाली सेना, स्थानीय बासिन्दा, विभिन्न संघ संस्थाको सक्रियतामा पुर्वपश्चिम राजमार्गको सम्शेरगन्जमा मंगलबारबाट सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । केन्द्रको मंगलबार एक कार्यक्रमका बीच प्रमुख अतिथी समेत रहेका राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले उद्घाटन गरे ।

उद्घाटन मन्तब्य दिदै उनले सर्पदंश उपचार केन्द्रमा ग्रामिण क्षेत्रका बिरामीले बढीभन्दा बढी लाभ लिने विश्वास गरे । सर्पको टोकाईबाट वर्षेनी धेरैले अकालमा ज्यान गुमाउन परिरहेको उल्लेख गर्दैै उपचार केन्द्र सम्शेरगन्जमै सञ्चालनमा आएपछि धेरै सहज हुने बताए । उपचार केन्द्रका लागि गाउँपालिकाले अझैपनि भौतिक र आर्थिक सहयोग गर्नमा कुनै कसर बाँकी नराख्ने अध्यक्ष थारुले प्रतिवद्धता जनाए । उपचार केन्द्र स्थापनाका लागि सक्रियता देखाएको नेपाली सेनाको श्रीमेहर गण प्रमुख सेनानी(कर्नेल) बासुदेव धिमालले बताए । उक्त केन्द्रबाट राप्तीसोनारी गाउँपालिका अन्तर्गत पर्ने खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, महादेवपुरीका बिरामीले उपचार पाउने उनले जानकारी दिए । केन्द्रबाट करिव ५१ हजार जनसंख्या लाभाम्वित हुने धिमालले बताए ।

भेरी अञ्चल अस्पतालको प्राविधिक सहयोगमा गणले सर्पले टोकेका बिरामीको उपचार गर्ने उनले जनाए । कार्यक्रममा पुर्वमन्त्री प्रेमबहादुर भण्डारी, गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जुकुमारी चौधरी, रेडक्रसका केन्द्रिय उपाध्यक्ष अजितकुमार शर्मा, रेडक्रस जिल्ला सभापति गोर्वद्धनसिंह सम्झना, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनमगर, जनप्रतिनिधी, सामुदायिक वन समुहका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख एवम् प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा कुल २३ लाख २ हजार ६ सय ४४ रूपैयाँको लागतमा केन्द्रको भवन निर्माण भएको हो । निर्माण समितिका अनुसार उक्त केन्द्र स्थापनाका लागि राप्तसिोनारी गाउँपालिकाले २० लाख ५० हजार र अन्य निकाय तथा जनश्रमदानबाट ९ लाख ६२ हजार ३ सय ६४ रूपैयाँ सहयोग भएको थियो ।

उपचार केन्द्रलाई दिर्घकालिन रुपमा सञ्चालनका लागि छुट्टै २० लाख २९ हजार ७० रूपैयाँको अक्षय कोष स्थापना गरिएको सर्पदंश उपचार केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतले जानकारी दिए । कोषमा १ सय ७२ जना ब्यक्तिले १४ लाख ६० हजार ३ सय ३५ र ४० वटा संस्थाले ५ लाख ६८ हजार ७ सय ३५ रूपैयाँ सहयोग गरेको पनि उनले बताए । अध्यक्ष बस्नेतका अनुसार सबैभन्दा बढी मनोज केसीले ५५ हजार ५ सय ५५, छबिलाल बस्नेतले ५१ हजार र प्रभात शाहले ५० हजार तथा संस्थातर्फ त्रिशक्ति सामुदायिक वन उपभोक्ता समुहले सबैभन्दा बढी ५० हजार ५ सय ५५ सहयोग गरेका थिए । सहयोगी दाता सबैलाई कदरपत्र प्रदान गरिएको वडाअध्यक्ष बस्नेतले बताए ।

Womui
Womui