अर्बपति साक्षी राखेर सञ्जेलले गरे तीन सयमा बिहे

126

छिनछिन खबर
काठमाडौं, भदौ १८ । समता शिक्षा फाउन्डेसनका सञ्चालक तथा शिक्षा अभियन्ता उत्तम सञ्जेलले बिहे गरेका छन्। अर्बपति उपेन्द्र महतोसमेतलाई साक्षी राखेर उनले सोमबार गुहेश्वरी मन्दिर परिसरमा तीन सय रुपैयाँमा बिहे गरेका हुन्।

उपेन्द्र महतो नेपालका सबैभन्दा धनीमध्ये पर्ने एक अर्बपति हुन्। अर्बपति महतोले लामो समयदेखि समता शिक्षा फाउन्डेसनलाई सहयोग गर्दै आएका छन्।सञ्जेलको बिहेमा जम्मा १० जना जन्ती थिए। हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, सीताराम कट्टेल, पत्रकारहरू गुणराज लुइँटेल, प्रतीक प्रधान, सुवास घिमिरे लगायत थिए।सञ्जेलका अनुसार बिहे पाँच मिनेटमा सकिएको थियो। ‘समाजमा देखावटी किसिमले खर्चिलो बिहे गरिन्छ, त्यस्तो हुनु हुँदैन भनेर हामीले सकेसम्म कम खर्चमा बिहे गरेका हौं,’ सञ्जेलले भने, ‘तीन सय रुपैयाँमा पनि बिहे सम्भव भयो।’

बिहेमा २५ रुपैयाँमा सिन्दुर, ७५ मा पोते, माला दुई सय खर्च भएको उनले बताए। ‘त्यसबाहेक हामी दुईले केही किनेनौं, जसले जे लगाएको छ त्यो उसैको हो,’ सञ्जेलले भने।दुलाहा सञ्जेल टि–सर्ट, पाइन्ट र चप्पलमा देखिएका छन्। दुलही कला कुर्तासुरुवाल, चप्पल र घुम्टो ओढेकी छिन्।सञ्जेलकी दुलही कला अधिकारी हुन्। समता अस्पतालमा स्वास्थ्य सहायक पदमा काम गरिरहेकी कला र सञ्जेल केही समययता प्रेम सम्बन्धमा थिए। चार महिनाअघि एक अर्कामा चिनजान भएको सञ्जेल बताउँछन्।जम्मा १०० रुपैयाँमा नर्सरीदेखि नर्सिङसम्म पढाइ हुने समता शिक्षा देशका ७७ जिल्लामै छ। भारत, श्रीलंका र बंगलादेशमा समेत गरी करिब ६५ हजार विद्यार्थी समतामा अध्ययनरत् छन्।बिहेमा एक किलो लड्डु महजोडीले किनिदिएका थिए। परिवारका सदस्य बोलाउँदा खर्च बढ्ने भएकाले आपसी सहमतिमा यसरी बिहे गरेको सञ्जेल बताउँछन्। दुलही पक्षले बिहेमा गर्न चाहेको खर्च समता अस्पतालमा बिरामीहरूको उपचारमा खर्च गर्ने निर्णय गरेको सञ्जेलले बताए।‘छोरी पाउनु नै सबैभन्दा ठूलो दाइजो हो, केही लिनु पनि हुन्न, दिनु पनि हुन्न भन्ने सन्देश दिन यसरी बिहे गर्यौं,’ सञ्जेलले भने।

Womui
Womui