शुक्रबारदेखि सुदूरपश्चिममा सुरु भयो गौरा पर्व

329

 

छिनछिन खबर

डडेलधुरा भदौ १५ । सुदूपश्चिमेलीहरुको विशेष पर्व गौरा विधिवत् रुपमा सुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि सुरुआत् हुने गौरा पर्व शुक्रबारदेखि सुरु भएको हो ।मुख्य गरी शिव र पार्वतीको पूजापाठ गरी शिव र गौरीको विवाहको सम्झानामा गौरा पर्व मनाउन थालिएको बुढापाकाहरुले बताउँछन् ।सुदूरपश्चिमेलीहरुको महान् पर्वको रुपमा मनाइने गौरा पर्वको पहिलो दिन महिलाहरुले गौरा घर (गौँरे खलो) मा तथा घर–घरमा तामाको भाँडामा बिरुडा भिजाएर गौरा पर्वको सुरुआत् भएको छ ।

 

बिरुडा भन्नाले पच नाज अर्थात् पाँच प्रकारका अन्न (केराउ, गहत, गुँरास, गहुँ, कालो मास) लाई बिरुडा भन्ने चलन छ । यो वर्षको पहिलो दिन बिरुडा भिजाई सुदूपश्चिमेलि महिलाहरुले गौरा पर्वको सुभारम्मभ गरेका छन् ।गौरा पर्वको पहिलो दिन महिलाहरुले ब्रत बसेर तामाको भाडाँमा सफा पानीले बिरुडा भिजाएर मनाउने चलन सुदूरपश्चिमेली समाजमा छ ।हरेक कृष पक्षमा पर्ने गौरालाई अधेरी गौरा र शुक्लपक्षमा पर्ने गौरा पर्वलाई उजेली गौरा भन्ने चलन रहेको् स्थानीय बताउँछन् । पञ्चमीका दिन भिजाएको बिरुडा दोस्रो दिन षष्ठीका दिन पानीको मुहान तथा धारामा गइ सामूहिक रुपमा धोएर गौरा देवीको प्रतिस्थापन गरी गौरा पर्व मनाउने चलन छ ।

त्यस्तै सप्तमीका दिन गौरा देबीलाई गौरा घर तथा मन्दिरमा भित्र्याएर आ–आफ्नो चलन अनुसार पूजापाठ गरी विवाहित महिलाहरुले दुबधागो चढाउने परम्परा छ ।यस्तै अष्टमीका दिन ब्रत बसेर महिलाहरुले विहानैदेखि गौरा पर्व मनाउने स्थल गौरा खलोमा पूजापाठ गर्ने गरेका छन् ।अष्टमीका दिनलाई मुख्य गरी गौरा पर्वको रमाइलो दिनका रुपमा लिइन्छ । मुख्य गरी गौरा देवीको प्रतिमा निर्माण गरी गौरा देबीको पूजापाठ गरि मनाउने तथा रमाइलो गर्ने भएकाले पनि त्यो अन्य दिनको भन्दा गौरा पर्वको महत्वपूर्ण दिनका रुपमा लिइन्छ ।

सोही दिन साँझ चढाएको दुबधागो अभिषेक गरेर पूजापाठ गरी खाना खाने चलन छ । महिलाहरुले प्रसादको रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यहरुको टाउको पुज्ने र निधारमा बिरुडा थापिदिने चलन रहेको छ । आ–आफ्नो परम्परा अनुसार गौरा देबी सेलाउने गरिन्छ । कुनै ठाउँमा अष्टमीका दिन गौरा देवीको प्रतिमा सेलाउने चलन छ भने कुनै दिन अष्टमीको भोली पल्ट साइत जुराएर प्रतिमा सेलाउने प्रचलन छ । मुख्य गरी सुदूरपश्चिमको दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बाजुरा, अछाम, डोटी कैलालीमा गौरा पर्व मनाउने चलन छ । यस्तै कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा समेत गौरा पर्व मनाइन्छ भने पछिल्लो समय राजधानी काठमाण्डौँमा समेत गौरा पर्व मनाउन थालिएको छ ।

Womui
Womui