बिम्स्टेक सम्मेलनमा सहभागी हुन आएका चार राष्ट्रप्रमुख आजै फर्किने

122

छिनछिन खबर
काठमाडौं, भदौ १५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक)को चौथो शिखरसम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका राष्ट्रप्रमुखमध्ये ४ जना शुक्रबार नै स्वदेश फर्कदै छन् । सम्मेलनले काठमाडौं घोषणा–पत्र जारी नगर्दै शुक्रबार बिहान बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । हसिना बिहीबार मात्रै नेपाल आएकी थिइन् ।

आम निर्वाचनलाई लिएर बढ्दो राजनीतिक गतिरोधका कारण वाजेद सम्मेलन नसकिँदै बंगलादेश फर्किन लागेकी हुन् । सम्मेलन सकिएसँगै आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा पनि आजै स्वदेश फर्किने बताइएको छ । सम्मेलनका लागि मोदी र ओ चा बिहीबार मात्रै नेपाल आएका हुन् । मिन्ट भने सबैभन्दा पहिले बुधबार नै काठमाडौं उत्रिएका थिए ।

उता भुटानका अन्तरिम सरकारका सल्लाहकार एवम् प्रधानन्यायाधीश दासो छिरिङ वाङचुक भने शनिबार फर्कने छन् । नेपाल आएकै दिनमा काठमाडौंस्थित बौद्ध स्तुपा अवलोकन गरेका उनले लुम्बिनी पुगेर पुजाआजा गर्ने कार्यक्रमसमेत छ । त्यस्तै, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना भने आइतबार मात्रै स्वदेश फर्किने छन् । सिरिसेना र प्रधानमन्त्री केपी शर्मा ओलीबीच द्विपक्षीय भेटघाटको कार्यक्रम तय भएको छ ।

Womui
Womui